कभर स्टोरी

तमू सञ्चारका संस्थापक संयोजक हुमबहादुर गुरूङ

पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं.९ भँगरामा जन्मिनुभएका हुमबहादुर गुरूङ सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरुको अग्रस्थानमा आउने नाम हो। बुबा जीतबहादुर र आमा हरिमायाका छोरा हुमबहादुरको परिवार हाल पोखरा महानगरपालिका वडा नं.१४ चाउथेमा बसोबास गर्नुहुन्छ।

ग्रामोदय निम्न माध्यमिक विद्यालय भँगरा, जनज्याति माध्यमि विद्यालय खाल्टे, पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरलगायतका शैक्षिक क्षेत्र उहाँका लागि मुख्य शैक्षिक गन्तव्य हुन्। विद्यार्थी जीवनबाटै राजनैतिक बिचार बोकेर हिँड्नुभएका उहाँ पृथ्वीनारायण बहुमुखी क्याम्पस पढ्दा स्वतन्त्र विद्यार्थी युनियनको सचिवदेखि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को केन्द्रीय सदस्यसम्म बन्नुभयो।

वि.सं.२०५९ सालबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले वातावरण पत्रकार समूह, सेज नेपाल, पोखरा एक्स्प्रेस पत्रिका, ङ्योए नाँसा धीँ, रेडियो अन्नपूर्ण, गोरखा आवाज, कास्की आवाज दैनिक, गोरखा मिडिया डटकमलगायतका सञ्चारमाध्यमहरुमा विभिन्न भूमिकामा रहेर काम गर्नुभयो।

तमू सञ्चारकर्मीहरुलाई पनि सङ्गठित बनाउनुपर्छ भनेर २०६५ सालमा उहाँकै संयोजकत्वमा तमू (गुरूङ) सञ्चारकर्मी संघ (एट्जोन)को स्थापना भयो। त्यसयता पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थामा आवद्ध हुनुभयो। तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालको संस्थापक संयोजकदेखि सल्लाहकारसम्मको भूमिकामा रहनुभएका उहाँ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अध्यक्षदेखि केन्द्रीय सल्लाहकारसम्म बन्नुभयो।

नेपाल पत्रकार महासंघ कास्की शाखामा कार्यसमिति सदस्यदेखि राष्ट्रिय परिषद सदस्यसम्मको भूमिकामा रहनु भयो। हाल तमू धीँ नेपालका केन्द्रीय अध्यक्ष उहाँ २७ वटा संघसंस्थामा सल्लाहकार हुनुहुन्छ। राजनैतिक जिम्मेवारीका हिसाबले नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रीय कमिटी सचिव, लोकतान्त्रिक तमू संघ नेपाल केन्द्रीय कमिटी महासचिवलगायतका पदमा हुनुहुन्छ।

संस्थाको स्थापना र राष्ट्रिय सम्मेलन
१. पृष्ठभुमि :
मानिसले एकार्काको आवश्यकता महसुस गर्न थालेदेखि नै सूचना तथा सञ्चार जगतको सुरूवात भएको हो। मानव विकाससँगै सञ्चार प्रविधिमा पनि क्रमशः नविनतम विकास भइरहेको छ। सञ्चारका लागि परम्परागत शैली आगो बाल्ने, ढोलक ठोक्ने, शङ्ख फुक्ने, झ्याली पिट्ने, बिगुल, कर्नाल फुक्ने आदि क्रियाकलापबाट सूचना जारी गरिन्थ्यो।

त्यसरी नै परेवाको पखेटामा बाँधेर चिठीपत्र पठाउने, सूचना आदानप्रदान गराउनेदेखि भित्तामा पर्चा, सूचना टाँसेर सुचित गराउने जस्ता गतिविधि पनि भए। विज्ञान र प्रविधिको विकाससँगेै सूचनाका लागि नयाँनयाँ सञ्चारको विकास हुँदै हुलाक, पत्रपत्रिका, रेडियो, टेलिफोन, टेलिभिजन, इमेल, इन्टरनेटजस्ता प्रविधिले विश्वलाई साँघुरो बनाएको छ, जसले क्षणभरमै सबै सूचना विश्वसामु छरिदिएको छ।

पछिल्लो समय सञ्चारमाध्यम सूचना सम्प्रेषण गर्ने माध्यममात्र नभई लगानी गर्ने क्षेत्रसमेत बन्दै गइरहेको छ। यसले व्यावसायिकता र रोजगारीको अवसरसमेत सिर्जना गर्दै लगेको छ। जोसँग सूचना छ, उही शक्तिशाली भन्ने मान्यता विकास भइरहेको छ। सूचना र सञ्चारको महत्त्वलाई मनन् गर्दै तमूहरु पनि पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन, अनलाइनजस्ता सञ्चारमाध्यम तथा फोटोग्राफीमा सक्रिय हुन थाले।

त्यसैले सञ्चार माध्यमहरुमा क्रियाशील तमू (गुरूङ) पत्रकार तथा सञ्चारकर्मीहरुका बीच परिचय, भाइचारा, एकापसमा सहयोगी भावको आदानप्रदान, व्यावसायिक हित, एकता र अधिकारका लागि सञ्चारकर्मीहरुको संयन्त्र निर्माण गरी अगाडि बढ्नका लागि तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपाल नामक संस्था स्थापनाको लागि प्रस्तावित गरिएको हो।

धेरै पहिलेदेखि नै तमू सञ्चारकर्मीहरुको संस्था आवश्यक थियो। तथापि यस क्षेत्रमा तमूहरुको उपस्थिति सङ्ख्यात्मकरूपमा न्युन भएकाले पनि त्यतिबेला संस्थागत गर्न सम्भव थिएन। सञ्चार क्षेत्रमा तमूहरु देखिने र सुनिने सङ्ख्यामा पुगेको महसुस भएपछि तमूहरुको राजधानी पोखराबाट संस्थागत पहल प्रारम्भ गरिएको हो।

उक्त समयमा केही वर्ष अगाडिदेखि आदिवासी जनजाति, महिला, दलित, मधेशी, दुर्गम क्षेत्र एवम् सिमान्तकृत वर्गको अधिकारबारे सचेतनाको अभियान नै चलिरहेको थियो। अझ २०६२/०६३ को संयुक्त आन्दोलनको सफलतासँगै पछाडि पारिएका जातजाति, लिङ्ग, क्षेत्र, वर्गमा आ–आफ्नो अधिकार प्राप्तिका लागि सङ्गठित हुने जागरणकै रूपमा विकास भइरहेको थियो।

सदियौँदेखि राज्यबाट असमानता र विभेदमात्र नभई उत्पीडन खेपेर बसेका तमू जातिको मौलिक कला, संस्कृतिको संरक्षण, सामुदायिक विषयवस्तुको उठान र प्रचारका लागि आफैँ जुट्नुपर्ने आवश्यकता भएपछि २०६५ वैशाख ७ गते पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुलस्थित होटल कैलाशमा एफएम रेडियो, टेलिभिजनमा तमू भाषामा कार्यक्रम सञ्चालन गर्ने, समाचार वाचन गर्ने सञ्चारकर्मीबीच कार्यक्रम सञ्चालनबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यले हुमबहादुर तमू (रेडियो अन्नपूर्ण पोखरा), भीम तमू (रेडियो लुम्बिनी बुटवल), खड्ग तमू (तमू मन्च पोखरा) र रोशनी तमू (रेडियो गण्डकी पोखरा)को भेटघाट र छलफलबाटै तमू सञ्चारकर्मी संघ (एट्जोन) नेपालको स्थापना भएको हो।

२. संस्थाको उद्देश्य:

तमू सञ्चारकर्मी संघ नेपाल निम्न उद्देश्य रहने स्थापना गर्ने तय गरिएको थियो।
क. तमू सञ्चारकर्मीहरु बीच परिचय, पारस्परिक सहयोग आदानप्रदान गर्नुका साथै भावनात्मक एकता कायम गर्ने र समग्र तमू जातिको एकताका लागि पहल गर्ने।
ख. सञ्चार क्षेत्रमा कार्यरत तमूहरुलाई सङ्गठित गरी उनीहरुको व्यावसायिक दक्षता अभिवृद्धि र प्रोत्साहित गर्ने।
ग. सञ्चार क्षेत्रमा कार्यरत तमूहरुको हकहित र अधिकारका लागि जोड दिँदै सञ्चारमा पहुँच बढाउने।
घ. तमू जातिको सांस्कृतिक, भाषिक, आर्थिक, राजनीतिकजस्ता अधिकारका विषयमा आमनागरिकलाई सुसूचित गराउँदै समान अधिकार प्राप्तिका लागि वातावरण तयार गर्ने।
ङ. तमू जातिको मौलिक भाषा, कला, संस्कृति, रीतिरीवाज, धार्मिक परम्पराको संरक्षण सम्बर्द्वन गर्दै तमू जातिको उत्थान, प्रगति र विकासका लागि प्रयत्न गर्ने।
च. तमू जातिका विषयवस्तुलाई सञ्चारमाध्यमबाट प्रचारप्रसारका लागि जोड दिने।
छ. विकृति विसङ्गतिको अन्त्य र समृद्ध नेपालको निर्माणमा पहल गर्ने।
ज. समान उद्देश्य भएका व्यावसायिक तथा जातीय संघसंस्थासँग भाइचारा सम्बन्ध कायम गर्ने।

३. राष्ट्रिय भेला आयोजक कमिटी गठन :

पोखरामा भएको तमू सञ्चारकर्मीहरुको प्रथम भेलाले सबैलाइ सङ्गठित गर्दै जानुपर्ने निष्कर्षका साथ छापा तथा विद्युतीय माध्यमहरु (पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन, अनलाइन, फोटोग्राफी)मा आवद्ध तमू सञ्चारकर्मी संघ राष्ट्रिय भेला/सम्मेलन आयोजक कमिटि गठन गरेको हो।
१. संयोजक : हुमबहादुर तमू (ङ्योए नाँसा धीँ/रेडियो अन्नपूर्ण)
२. सहसंयोजक : भीम तमू (रेडियो लुम्बिनी)
३. सदस्य सचिव : खड्ग तमू (तमू मञ्च)

सदस्यहरु :

४. मोहन घले : रेडियो अन्नपूर्ण
५. तेजबहादुर तमू : गोल्डेन आइ टेलिभिजन/माछापुच्छ्रे एफएम
६. अनिता तमू : गोरखापत्र/सगरमाथा टेलिभिजन
७. गणेशमान तमू : सगरमाथा टेलिभिजन
८. सरस्वती तमू : रेडियो अन्नपूर्ण
९. आश तमू : रेडियो नेपाल/रेडियो मर्स्याङ्दी, लमजुङ
१०. कुमार तमू : रूपन्देही एफएम
११. शान्ति तमू : रेडियो नेपाल पोखरा
१२. गौरी तमू : कालिका एफएम चितवन
१३. रत्ना तमू : तरङ्ग प्रालि/माछापुच्छ्रे एफएम
१४. रोशनी तमू : रेडियो गण्डकी/तमू संसार
१५. मञ्जु तमू : नेपाल समाचारपत्र

४. कार्ययेजना :
पोखरामा भएको भेलाले न्युनतम कार्ययोजना तयार गरेर आयोजक समितिलाई दुई कार्यभार सुम्पेको थियो, जसमा संघको प्रथम सम्मेलन आगामी छ महिनाभित्र गर्ने र पोखरा, काठमाडौं, बुटवलमा क्षेत्रीय भेला गर्ने गरी तमू सञ्चारकर्मीहरुको तथ्याङ्क सङ्कलन गर्ने।

उक्त कार्ययोजनाअनुसार पोखरामा २०६५ साल वैशाख ३१ गते विभिन्न सञ्चार माध्यममा क्रियाशील तमू सञ्चारकर्मीहरुको भेलाले तमू सञ्चारकर्मी संघ क्षेत्रीय तदर्थ समिति पोखरा गठन गरेको छ।
१. अध्यक्ष : राजबहादुर तमू (सगरमाथा टेलिभिजन/साप्ताहिक पाक्षिक सञ्जालका क्षेत्रीय संयोजक)
२. उपाध्यक्ष : मीना तमू (रेडियो अन्नपूर्ण)
३. सचिव : रतन तमू (पोखरापत्र दैनिक)
४. कोषाध्यक्ष : विमला तमू (रेडियो गण्डकी)
५. सदस्य : शीला तमू (रेडियो नेपाल/माछापुच्छ्रे एफएम)
६. सदस्य : रीता तमू, (बाराही एफएम)
७. सदस्य : मिनु तमू, (हिमालचुली एफएम)
८. सदस्य : सपना तमू, (ङ्योंए नाँसा धीं/पोखरा एफएम)
९. सदस्य : अमन तमू (पोखरापत्र)
१०. सदस्य : पलम घले (काटुनिष्ट)
११. सदस्य : नोमराज तमू (पोखरापत्र)

यसैगरी भदौ ८ गते काठमाडौँ उपत्यकाव्यापी तमू सञ्चारकर्मीहरुको भेला तमू बौद्ध सेवा समिति अनामनगरमा सम्पन्न भयो। भेलाले काठमाडौँ उपत्यका तदर्थ समिति गठन गर्‍यो।

१. संयोजक : मनिराज तमू (थोम्योँ)
२. सदस्य : अनिता तमू (सगरमाथा टेलिभिजन/गोरखापत्र)
३. सदस्य : गंगा तमू (एन्टेना फाउण्डेशन)
४. सदस्य : मञ्जु तमू (नेपाल समाचारपत्र)
५. सदस्य : राजेश तमू (हिमालय टाइम्स/अन्नपूर्ण)
६. सदस्य : शोभा तमू (सगरमाथा टेलिभिजन)
७. सदस्य : रविन तमू (धीर्बै ताँ/गोरखापत्र)
८. सदस्य : डण्ड तमू (एबीसी टेलिभिजन)
९. सदस्य : खिम घले (कान्तिपुर दैनिक)

पोखरा र काठमाडौँमा भेला सम्पन्न गरी तदर्थ समिति गठन गरिए पनि बुटवलमा भने समिति गठन गर्न सकेन। भेला आयोजना गर्ने, तदर्थ समिति गठन तथा तथ्याङ्क सङकलन गर्दै राष्ट्रिय सम्मेलनको तयारीमा जुट्ने क्रममा उक्त समयमा पोखरा क्षेत्रमा ४० जना, काठमाडौँमा ३६ जना, बुटवलदेखि चितवनसम्म २० जना र नेपालका अन्य ठाउँहरुमा ७ जनासहित १०७ जना तमू सञ्चारकर्मीहरु क्रियाशील रहेको तथ्याङ्क सङ्कलन भयो।

प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिका सचिव खड्ग तमूलाई विधान मस्यौदा, मोहन घलेलाई प्रचारप्रसार, सरस्वती तमूलाई आर्थिक, तेजबहादुर तमूलाई आवास तथा भोजन, शान्ति तमू र रत्ना तमूलाई अतिथि सत्कार, सपना तमूलाई सांस्कृतिक, नोमराज तमूलाई मञ्च व्यवस्थापन, रोशनी तमूलाई स्वयंसेवक संयोजनको जिम्मेवारी दिइयो।

सम्मेलन सम्पन्न गर्न करिब ३ लाख ४० हजार रूपैया खर्च लाग्ने अनुमान गरी आयोजक समितिबाट एक लाख ५० हजार, पोखरा तदर्थ समिति र काठमाडौँ तदर्थ समितिलाई ७०/७० हजार, बुटवल–चितवनलाई ४० हजार र लमजुङलाई १० हजार रूपैया आर्थिक दायित्व तोकिएको थियो।

राज्यको पुनःसंरचनासँगै नेपाल सङ्घीयतामा जाँदै थियो, उक्त अवसरमा तमू सञ्चारकर्मीहरु सङ्गठित हुने, तमूहरुमा व्यावसायिक दक्षताको अभिवृद्धि गरी अघि बढ्ने, तमूहरुको आदिम भूमिमाथिको अधिकार, जातीय, भाषिक, सामाजिक तथा सांस्कृतिक, आर्थिक, राजनीतिक अधिकारको लागि जुट्न सबैलाई आव्हान गर्दै ‘तमूवान सङ्घीयताको आधार, संचारमा पहुँच सबै क्षेत्रमा समान अधिकार’ नारा तय गरेको थियो।

तमू सञ्चारकर्मी संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन पोखरा ९ नयाँबजारस्थित तमू धीँ नेपालमा २०६५ कार्तिक २३ गते शनिबार र २४ गते आइतबार नेपाल सरकारका माननीय वन तथा भू–संरक्षण मन्त्री किरण गुरूङज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

देशैभरका ७२ जना तमू सञ्चारकर्मीहरु सहभागी प्रथम सम्मेलनले कार्तिक २३ गते साँझ गणेशमान तमूको अध्यक्षतामा तमू सञ्चारकर्मी संघ केन्द्रीय समिति गठन गर्दै आयोजक समितिको महत्त्वपूर्ण जिम्मेवारी पूरा गरियो । नेतृत्वका लागि इच्छा धेरैको भए पनि सर्वसम्मत समिति गठन गराउन सफल भयो।

आयोजक समितिको अभिभारा पूरा गर्दै कार्तिक २४ गते नवनिर्वाचित तमू सञ्चारकर्मी संघ र सम्मेलनमा सहभागी प्रतिनिधिहरुलाई रमणीय पर्यटकीय गाउँ धम्पुस (तोम्ने) अवलोकन भ्रमण गर्नुका साथै ‘धम्पुस, पर्यटन विकास र सञ्चार’ विषयक अन्तरक्रियासमेत आयोजना गरेको थियो।

कार्यक्रमको लागि लालीगुराँस युवा क्लब धम्पुस, होटल व्यवस्थापन समितिको व्यवस्थापन र नेपाल पर्यटन बोर्डले प्रवर्द्वन गरेको थियो।

नोट : गुरुङ वर्ष पुस्तक २०८१ (मुप्री ल्हो) मा प्रकाशित सामाग्री