कभर स्टोरी

पोर्चुगलमा अनु गुरुङको लोभलाग्दो प्रगति

मानिसको जीवन पनि नदीजस्तै रहेछ । कतै चट्टानसँग ठोक्किएर अघि बढ्छ, कतै पहाडको छाती चिरेर बाटो बनाउँछ, त कतै समथर मैदानमा शान्तसँग बग्छ । नदीलाई आफ्नो गन्तव्यसम्म पुग्न जति अवरोधले रोक्न खोजे पनि त्यसको निरन्तर बहाव रोकिँदैन । मानिसको जीवनमा पनि संघर्षका ढुङ्गा, अभावका पहाड र अनिश्चितताका भुमरीहरू आइरहन्छन् । तर, जसले परिस्थितिसँग हार मान्दैन, उसले एक दिन आफ्नै बाटो बनाउँछ । पोखराको रानीपौवाबाट युरोप आइपुगेकी अनु गुरुङको जीवनयात्रा पनि यस्तै नदीजस्तै कहिले घाम र कहिले झरीसँग मुकाबिला गर्दै निरन्तर अगाडि बढिरहेको छ ।

कुनै समय लिस्बनको एउटा चिनियाँ रेस्टुरेन्टमा दैनिक १२ घण्टा काम गरेर महिनाको चार सय युरो कमाउने अनु गुरुङको कमाइ फेरिएको छ । तर, कमाइसँगै अनुभव र अप्ठ्यारा बाटोहरू पनि बदलिएका छन् । पहिले अरूको लागि काम गर्थिन्, अहिले आफ्नो लागि मेहनत गर्छिन् । काम र मेहनतले होला आज पोर्चुगलका विभिन्न शहरमा ६ वटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी छिन् ।

कामदार हुँदा आफ्नो परिवारको मात्रै सहारा बनेकी अनु साहुनी बनेपछि ५४ जना स्टाफको परिवारको पनि रोजीरोटीको आधार बनेकी छन् । साहुनी अर्थात्, हिसाबकिताबको जिम्मा लिने मान्छे । तर पनि उनमा कुनै घमन्ड देखिँदैन । गुपचुप काम गर्न मन पराउँछिन् ।

null

धनाढ्यको लिस्टमा पर्नका लागि चर्चाकी भोकी पनि छैनन् । तडकभडक र तामझाम के हो उनलाई थाहा छैन । आफ्ना रेस्टुरेन्टका सुसीका ग्राहकहरूबाहेक उनलाई धेरै मान्छे चिन्नु पनि छैन ।

अभावबाट सम्भावनासम्म, सङ्घर्षबाट सफलतासम्म र सामान्य जीवनबाट असाधारण उपलब्धिसम्म पुग्न आफ्नै पसिना, परिश्रम र अटल आत्मविश्वासमा भरोसा गर्ने एक नेपाली युवती, एक आमा, एक श्रीमती, एक छोरी, एक बुहारी अनु गुरुङ खाएर, रमाएर, नाचेर हिँड्ने र जीवनको चमकधमकलाई नै सफलता ठान्ने देखावटी समाजका लागि फरक मान्छेको रूपमा उभिएकी छिन् । सामाजिक सञ्जालमा देखाइने क्षणिक रमझम र बाहिरी तामझामबाट धेरै टाढा अनु गुरुङ केवल आफ्नो सफलता पछाडि लुकेको सङ्घर्ष, सहनशीलता, निरन्तरको मेहनत र आफूले आफैँमाथि गरेको विश्वाससँग मात्रै नजिक छिन् ।

हिजोको अभावले आजको सम्भावनालाई रोक्न सक्दैन भन्ने उदाहरण हुन्, अनु गुरुङ । छोरी मान्छे लजाएर बस्नुपर्छ, छोरी मान्छेको काम मेकअप गरेर अनुहार राम्रो बनाउने हो, लुगा धुने हो, घर सफा गर्ने हो र खाना पकाएर परिवारको सदस्य पर्खिएर बस्ने हो भन्ने मान्यतालाई भत्काएर अनु गुरुङ युरोपमा अपवादको रूपमा नेपाली महिला ‘बिजनेस वुमन’ बनेकी छिन् । परिस्थितिले जति नै साँघुरो बाटो देखाए पनि दृढ इच्छाशक्ति र निरन्तरको परिश्रमले ६ लेनको हाइवे बनाएकी छिन्, अनुले ।

null

अनुको विदेशयात्रा गरिबीको भुमरीबाट उम्किने बाध्यताले शुरू भएको थिएन । उच्च शिक्षा पूरा गरिसकेकी उनलाई खानलाउनकै लागि विदेशिनुपर्ने अवस्था थिएन । अनु सम्पन्न परिवारकै छोरी थिइन् । तर, आफ्नो गुरुङ समुदायमा कोही हङकङको परिचयपत्र बोकेर हिँड्ने, कोही सिङ्गापुरे लाहुरे त कोही ब्रिटिस लाहुरे भएको देख्दा उनको मनमा पनि विदेश जाने रहर पलायो । युरोप पुग्ने र त्यहाँको आवासीय परिचयपत्र बनाउने चाहनाले उनलाई सन् २०११ मा जर्मनी पुर्‍यायो ।

जर्मनीमा मन रमेन, बेल्जियम पुगिन् । बेल्जियममा रहँदा पोर्चुगलमा आवासीय परिचयपत्र बनाएर भविष्यमा नागरिकता र रातो पासपोर्ट प्राप्त गर्न सकिने कुरा सुनिन् ।

त्यसपछि उनको पाइला पोर्चुगलतर्फ मोडियो । जीवनको नक्सा कोर्दा मानिसले एउटा गन्तव्य रोज्छ, तर समयले कहिलेकाहीँ उसलाई अर्कै गन्तव्यको यात्रु बनाइदिन्छ ।

अनु पनि पोर्चुगल आउँदा यहाँ सधैँ बस्ने योजनामा थिइनन् । तर, यही देश उनको कर्मभूमि, यहीँ उनको परिवारको भविष्य र यहीँ उनको सफलताको जग बस्नेवाला थियो ।

सन् २०११ को पोर्चुगल आर्थिक संकटबाट गुज्रिरहेको थियो । काम पाउन सजिलो थिएन, त्यसमाथि कानूनी रूपमा बसोबास गर्न आवश्यक रोजगार सम्झौता उपलब्ध गराउने रोजगारदाता भेट्नु झन् कठिन थियो । अन्ततः अनुले एउटा चिनियाँ रेस्टुरेन्टमा काम पाइन् । मासिक तलब जम्मा चार सय युरो, दैनिक काम १२ घण्टासम्म । बिहानदेखि बेलुकासम्म खुट्टा नथाकुन्जेल उभिनुपर्ने, ग्राहकको सेवामा खटिनुपर्ने र थोरै कमाइबाट भविष्यको आशा जोगाइराख्नुपर्ने अवस्था थियो ।

आज पोर्चुगलमा बस्ने मानिसले घरभाडा, खानेकुरा र अन्य खर्चको हिसाब गर्दा चार सय युरोको मूल्य सहजै अनुमान गर्न सक्छ । तर, अनुका लागि त्यो रकम केवल तलब थिएन, पोर्चुगलमा आफ्नो भविष्य निर्माण गर्ने यात्राको शुरूवाती आधार थियो ।

पसिनाले भिजेको दिनको अन्त्यमा थकित शरीर लिएर विश्राम गर्न जाँदा पनि उनको मनमा एउटा सपना जीवित थियो— आजको दुःख भोलिको सुखको आधार बन्न सक्छ ।

विदेशमा दुःख गर्नु एउटा कुरा हो, आफ्नो दुःख परिवारबाट लुकाएर मुस्कुराउनु अर्को कुरा । अनु आफ्नै रहरले विदेश आएकी थिइन् । त्यसैले कामको कठिनाइ र अभावका कुरा परिवारलाई धेरै सुनाइनन् । एक वर्षसम्म चिनियाँ रेस्टुरेन्टमा काम गरेपछि उनले लिस्बनको साल्दान्हानजिकै रहेको एउटा तारे होटलमा काम पाइन् । त्यहाँ करिब दुई–तीन वर्ष बिताइन् । यही अवधिमा उनको विवाह आफ्नै कुलखानदानका एक युवासँग भयो ।

अनु भन्छिन्- ‘पछि श्रीमान् पनि पोर्चुगल आइपुग्नुभयो । उहाँ सुसी बनाउने काममा अनुभवी सेफ हुनुहुन्थ्यो र अरिगातो सुसी रेस्टुरेन्टमा काम गरिसक्नुभएको थियो ।’

अब अनुको जीवनमा एउटा नयाँ अध्याय शुरू हुँदै थियो । एकातिर रेस्टुरेन्ट र होटलमा काम गरेर बटुलेको अनुभव, अर्कोतिर श्रीमानको पाककलाको सीप । दुई फरक हातमा रहेको सीप जब एउटै सपनामा जोडियो, तब आफ्नै व्यवसाय शुरू गर्ने विचारले आकार लिन थाल्यो ।

अरूको घरमा बत्ती बालेर आफ्नो घर अँध्यारो राख्ने कि आफ्नै आँगनमा पनि उज्यालो छर्ने? अनु दम्पतीको मनमा यस्तै प्रश्न उठेको हुनुपर्छ ।

null

जीवनभर अरूको रेस्टुरेन्टमा काम गरेर मात्रै बस्ने कि आफूले जानेको सीप र अनुभवलाई आफ्नै भविष्य निर्माणमा लगाउने? आफ्नै व्यवसाय शुरू गर्नु भनेको पैसाको लगानी मात्र होइन, अनिश्चिततासँग हात मिलाउनु पनि हो । व्यवसाय चल्छ कि चल्दैन, लगानी उठ्छ कि उठ्दैन, ग्राहक आउँछन् कि आउँदैनन् भन्ने अनेक प्रश्नले नयाँ उद्यमीलाई घेर्छन् ।

तर, सपना देखेर मात्र पुग्दैन, त्यसलाई साकार पार्न जोखिम उठाउने साहस पनि चाहिन्छ । अनु र उनका श्रीमानले यही साहस देखाए । आफूले जानेको कामलाई नै आफ्नो भविष्य निर्माणको आधार बनाउने निर्णय गरे । उनीहरूको मनमा उम्रिएको त्यो सानो विचार एक दिन धेरै मानिसको रोजीरोटी जोडिने व्यवसायमा परिणत होला भन्ने कुरा त्यतिबेला अनुमान गर्न कठिन थियो ।

सन् २०१७ मा अनु गुरुङ दम्पतीले एक विदेशी साथीसँग मिलेर पोर्चुगलको कास्तेलो ब्राङ्कोमा ‘योकोजो सुसी लाउन्ज’ नामको सुसी रेस्टुरेन्ट शुरू गरे । नयाँ व्यवसायको बाटो फूलैफूलले सजिएको थिएन । लगानीको जिम्मेवारी, ग्राहकको विश्वास, खानाको गुणस्तर र दैनिक व्यवस्थापनका अनेक चुनौती थिए । तर श्रीमानको पाककलाको सीप र अनुको व्यवस्थापन क्षमताले व्यवसायलाई विस्तारै गति दिन थाल्यो । रेस्टुरेन्टको खाना र सेवाबाट प्रभावित भएर टाढाटाढाबाट ग्राहक आउन थाले ।

कोभिल्हाबाट समेत ग्राहक त्यहाँ पुग्थे । केही ग्राहकले कोभिल्हामा पनि सुसी रेस्टुरेन्ट खोल्न सुझाव दिए । ग्राहकका ती शब्द उनीहरूका लागि प्रशंसाभन्दा बढी सम्भावनाको ढोका बने ।

अवसर सधैँ ठूलो घोषणासहित आउँदैन रहेछ । कहिलेकाहीँ ग्राहकले दिएको एउटा सामान्य सुझावले पनि भविष्यको बाटो देखाइदिन्छ । अनु दम्पतीले त्यही अवसर पहिचान गरे र कोभिल्हामा पनि आफ्नो व्यवसाय विस्तार गरे ।

null

कोभिल्हामा पनि व्यवसाय राम्रो चल्न थालेपछि उनीहरूले ग्वार्दामा अर्को रेस्टुरेन्ट खोले । एउटा रेस्टुरेन्टबाट शुरू भएको यात्रा विस्तारै नयाँ शहरहरूतर्फ अघि बढ्न थाल्यो ।

व्यवसायको विस्तारसँगै जिम्मेवारी पनि बढ्दै गयो । नयाँ ठाउँमा ग्राहकको विश्वास जित्नुपर्ने, कर्मचारी व्यवस्थापन गर्नुपर्ने र प्रतिस्पर्धाबीच आफ्नो पहिचान कायम राख्नुपर्ने चुनौतीहरू थिए ।

तर, अनु दम्पतीले आफ्नो कामलाई निरन्तरता दिए । उनीहरूको अनुभव बढ्दै गयो, व्यवसायप्रतिको आत्मविश्वास बलियो हुँदै गयो । सफलताको एउटा खुड्किलो चढेपछि अर्को खुड्किलो देखिन्छ, तर त्यसमा पाइला राख्न फेरि मेहनत गर्नुपर्छ ।

व्यवसाय विस्तारको यात्रामा अनुले यही सत्यलाई व्यवहारमा उतारिन् । उनले एउटा रेस्टुरेन्टको सफलतालाई अन्तिम उपलब्धि ठानिनन्, बरु नयाँ सम्भावनाको शुरूवातका रूपमा लिइन् ।

व्यवसायमा सधैँ वसन्त ऋतु मात्र आउँदैन । कहिलेकाहीँ परिस्थितिले फूल फुलेको बगैँचासमेत छोड्न बाध्य बनाउँछ । अनु दम्पतीले विशेष कारणले ग्वार्दाको रेस्टुरेन्ट बन्द गर्नुपर्‍यो ।

तर, एउटा रेस्टुरेन्ट बन्द हुनु उनीहरूको उद्यमशीलताको अन्त्य थिएन । जीवनमा कुनै ढोका बन्द हुँदा अर्को ढोका खोल्न सक्ने आत्मविश्वास हुनु आवश्यक छ । उनीहरूले आफ्नो अनुभव र सीपलाई साथमा लिएर अगाडिको यात्रा जारी राखे ।

null

आज उनीहरूको रेस्टुरेन्ट व्यवसाय कास्तेलो ब्राङ्को, कोभिल्हा, भिजेऊ र गिमाराइँससम्म फैलिएको छ । यसबाहेक अनु गुरुङले आफ्नै नेतृत्व र व्यवस्थापनमा ‘मण्डला सुसी’ नामको अर्को रेस्टुरेन्ट पनि सञ्चालन गरेकी छन् । उक्त रेस्टुरेन्ट उनी आफैँ सम्हाल्दै आएकी छन् । यसले उनी केवल सफल सेफकी श्रीमती मात्र नभई आफैँ निर्णय लिन सक्ने, जिम्मेवारी बहन गर्न सक्ने र व्यवसाय सञ्चालन गर्न सक्षम महिला उद्यमी भएको देखाउँछ ।

आज अनु गुरुङ दम्पतीका ६ वटा रेस्टुरेन्टमा ५४ जनाले रोजगारी पाएका छन् । यो संख्या केवल कर्मचारीको सूचीमा लेखिएका ५४ नाम होइनन् ।

ती नामसँग जोडिएका परिवार छन्, विद्यालय जाने बालबालिका छन्, घरभाडा तिर्नुपर्ने जिम्मेवारी छ, बिरामी पर्दा औषधि किन्नुपर्ने बाध्यता छ र भोलिको जीवनप्रतिको आशा छ । एउटा व्यक्तिले नियमित रोजगारी पाउनु भनेको उसको जीवनमा स्थिरताको एउटा खम्बा ठडिनु हो । त्यसैले ५४ जनालाई रोजगारी दिन सक्ने अवस्थामा पुग्नु अनुको महत्त्वपूर्ण उपलब्धि हो ।

कुनै समय आफैँ काम खोज्दै हिँड्नुपर्ने अवस्था भोगेकी महिला आज अरूका लागि कामको अवसर सिर्जना गरिरहेकी छन् । हिजो आफ्नो भविष्य खोज्दै विदेश आएकी अनु आज अरूका भविष्यसँग पनि जोडिएकी छन् । आफ्नै घरमा चुलो बाल्नु राम्रो कुरा हो, तर आफ्नो सफलतासँगै अरूका घरमा पनि चुलो बल्ने आधार तयार गर्नु त्योभन्दा ठूलो उपलब्धि हो ।

आर्थिक प्रगति भएपछि मानिसको जीवनशैलीमा पनि परिवर्तन आउँछ । अनु गुरुङको जीवनमा आज सम्पन्नता र सुविधासम्पन्न जीवनशैली जोडिएका छन् । दुई सन्तानसहित उनको परिवार पोर्चुगलको सुन्दर पहाडी शहर कोभिल्हामा बस्दै आएको छ । त्यहाँ उनीहरूले भव्य आवासीय घर खरिद गरेका छन् । मेहनत गर्न जति रुचाउने अनु राम्रो घर र सवारीसाधनप्रति पनि उत्तिकै सौखिन छिन् । केही महिनाअघि उनले जर्मन कार निर्माता कम्पनी पोर्शको अत्याधुनिक विद्युतीय खेलकुद गाडी ‘टायकान टर्बो एस’ खरिद गरिन् । उनी आफैँ त्यो गाडी चलाउँछिन् ।

null

सन् २०११ मा लिस्बनको एउटा चिनियाँ रेस्टुरेन्टमा दैनिक १२ घण्टा काम गरेर महिनाको चार सय युरो कमाउने युवती र सन् २०२६ मा ६ वटा रेस्टुरेन्ट सञ्चालन गर्दै अत्याधुनिक गाडीको स्टेयरिङ समातेर पोर्चुगलका सडकमा यात्रा गरिरहेकी युवती । यी दुई दृश्यबीचको दूरी केवल पन्ध्र वर्षको समय होइन, निरन्तर मेहनतले निर्माण गरेको एउटा लामो यात्राको दूरी हो ।

तर, महँगो गाडीको चमकले त्यसको पछाडि बगेको पसिना छोप्नु हुँदैन । आज देखिने घर, गाडी र व्यवसायको जगमा हिजोका ती कठिन दिनहरू छन्, जब अनुले दैनिक १२ घण्टा काम गरेर आफ्नो भविष्यको बाटो खोजिरहेकी थिइन् । आफ्नै व्यवसाय शुरू गरेपछि पनि चुनौती समाप्त भएनन् । लगानीको जोखिम, कर्मचारीको जिम्मेवारी, ग्राहकको अपेक्षा र व्यवसाय टिकाइराख्ने दबाब सधैँ साथमा रहे । सफलताको उचाइमा पुग्नु एउटा कुरा हो, त्यहाँ टिकिरहनु अर्को कुरा ।

सफलता कुनै एक दिनको चमत्कार होइन भन्ने कुरा अनुको यात्राले देखाउँछ । त्यो वर्षौँको श्रम, धैर्य, अनुभव र निरन्तर निर्णयहरूको परिणाम हो ।

बाहिरबाट हेर्दा सफल मानिसको जीवन सुन्दर देखिन्छ, तर त्यो सुन्दरताको जगमा कति थकान, कति चिन्ता र कति त्याग लुकेका छन् भन्ने कुरा भोग्ने मानिसलाई मात्र थाहा हुन्छ ।

अनुका रेस्टुरेन्टहरूले विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेको उनी बताउँछिन् । उनका अनुसार पोर्चुगलको प्रमुख खाद्य तथा रेस्टुरेन्ट आपूर्ति कम्पनी ‘रेचेइउ’ ले गत वर्ष उनीहरूको व्यवसायलाई उत्कृष्ट खरिदकर्ताका रूपमा सम्मान गर्दै अमेरिकाको भ्रमण पुरस्कार दिएको थियो ।

यस वर्ष विश्वकपको टिकटसमेत उपलब्ध गराएको र अन्य पुरस्कार तथा उपहार पनि प्राप्त भएको उनको भनाइ छ । उनी भन्छिन्- ‘हामी श्रीमान्–श्रीमती दुवै खट्छौँ । उहाँ एकदम राम्रो सेफ हुनुहुन्छ । परिवारमा श्रीमान्-श्रीमती मिलेर आफूले जानेको व्यवसाय गरियो, मेहनत गरियो भने असफल भइँदैन भन्ने मलाई लाग्छ ।’

null

उनको जवाफमा सफलताको कुनै रहस्यमय सूत्र थिएन । आफूले जानेको काम गर्ने, पारिवारिक सहकार्य कायम राख्ने र निरन्तर मेहनत गर्ने विश्वास थियो । कतिपय मानिस सफलता खोज्दै संसार चहार्छन्, तर त्यसको जग आफ्नै सीप, श्रम र अनुशासनमा पनि भेटिन सक्छ ।

अनु गुरुङको सफलतामा सबैभन्दा अर्थपूर्ण लाग्ने पक्ष उनको विगतप्रतिको सम्झना हो । सन् २०११ मा चार सय युरो तलबमा दैनिक १२ घण्टा काम गर्दा पर्याप्त सेवा सुविधा नपाएको अनुभव उनले आज पनि बिर्सेकी छैनन् । त्यसैले आफ्ना कर्मचारीको तलब र सुविधामा विशेष ध्यान दिने गरेको उनी बताउँछिन् । उनका अनुसार अहिले कर्मचारीले जिम्मेवारी र कामअनुसार मासिक करिब एक हजारदेखि एक हजार नौ सय युरोसम्म तलब पाउँछन् ।

मानिसले अभाव भोगेपछि सम्पन्नता हासिल गर्न सक्छ, तर आफूले भोगेको अभाव अरूले भोग्न नपरोस् भन्ने सोच सबैमा हुँदैन । विगतको पीडालाई अरूका लागि सहज परिस्थिति निर्माण गर्ने प्रेरणा बनाउनु फरक कुरा हो । महँगो गाडी चढ्नु आर्थिक क्षमताको परिचय हुन सक्छ, तर आफ्नो श्रमको मूल्य नपाउँदाको पीडा सम्झेर अरूको श्रमको सम्मान गर्नु मानवीयताको परिचय हो । अनुको सफलतालाई अर्थपूर्ण बनाउने पक्ष यही हो ।

पोर्चुगल आउँदा अनु गुरुङको योजना यही देशमा जीवन बिताउने थिएन । यहाँको आवासीय परिचयपत्र बनाउने, पछि नागरिकता र रातो पासपोर्ट प्राप्त गर्ने अनि अर्को युरोपेली देशतर्फ जाने उनको सोच थियो । तर, जीवनका सबै योजना आफूले चाहेअनुसार अघि बढ्दैनन् । कहिलेकाहीँ मानिसले अस्थायी ठानेको ठाउँ नै उसको स्थायी संसार बनिदिन्छ ।

पोर्चुगलमा उनले संघर्ष गरिन्, व्यवसाय शुरू गरिन्, परिवार स्थापित गरिन् र आफ्नै घर बनाइन् । आज उनका दुई सन्तान यहीँ हुर्किरहेका छन् । सेरा दा एस्ट्रेलाको काखमा रहेको कोभिल्हा शहरसँग उनको गहिरो आत्मीयता जोडिएको छ । उनी भन्छिन्, ‘म सन् २०११ मा पोर्चुगल आउँदा यहाँको रातो पासपोर्ट लिएर अन्तै जान्छु भन्ने सोच थियो । तर, अहिले त कोभिल्हा छोडेर कतै जान मन लाग्दैन । अब यहीँ बस्ने हो ।’ जुन देशलाई कुनै समय अर्को गन्तव्यतर्फ जाने भर्‍याङ ठानेकी थिइन्, आज त्यही देश उनको कर्मभूमि र भविष्य बनेको छ ।

अनु गुरुङ पोर्चुगलका कुनै नेपाली संघ–संस्थाको पदमा छैनन् । उनी संघ–संस्थाका गतिविधिबारे आफूलाई धेरै जानकारी नभएको बताउँछिन् । तर, विदेशमा बस्ने नेपालीप्रतिको उनको भावना स्पष्ट छ । उनी भन्छिन्, ‘हामी विदेशमा बस्ने सबै नेपाली एउटै परिवार हौँ । म सबैलाई सम्मान गर्छु ।’ भविष्यमा पोर्चुगलमा नेपाली घर खोल्नुपरे वा कुनै परोपकारी काम गर्नुपरे आफूले पनि सहयोगको हात बढाउने उनको इच्छा छ ।

समाजका लागि योगदान गर्न सधैँ कुनै पदमा बस्नुपर्छ भन्ने छैन । कसैले संस्थामा रहेर काम गर्छन्, कसैले आर्थिक सहयोग गर्छन्, कसैले दुःखमा परेका मानिसलाई साथ दिन्छन् त कसैले रोजगारीको अवसर उपलब्ध गराउँछन् । योगदानका बाटा फरक भए पनि त्यसको महत्त्व कम हुँदैन । अनुले आफ्नो व्यवसायमार्फत धेरै मानिसलाई रोजगारी दिने अवसर सिर्जना गरेकी छन् । भविष्यमा समुदायका लागि थप योगदान गर्ने उनको चाहना पनि प्रशंसनीय छ ।

null

सन् २०११ मा पोर्चुगल आएकी युवतीले शुरूमा काम खोज्न संघर्ष गर्नुपर्‍यो । दैनिक १२ घण्टा काम गरेर महिनाको चार सय युरो कमाउने अवस्थाबाट आफ्नै व्यवसाय शुरू गर्ने निर्णयसम्म पुग्न उनले लामो बाटो पार गरिन् । त्यसपछि एउटा रेस्टुरेन्टबाट शुरू भएको व्यवसायलाई विभिन्न शहरमा विस्तार गरिन् । आज छ वटा रेस्टुरेन्टको मालिक बनेर ५४ जनाले रोजगारी पाएका छन् । किनकि उनको यात्रा चानचुने थिएन, कामदारबाट रोजगारदाता बन्ने यात्रा थियो ।

यो नेपाली महिलाको साहस, आत्मनिर्भरता, व्यावसायिक सीप र पारिवारिक सहकार्यको कथा हो । पोर्चुगलमा रेस्टुरेन्ट, होटल, कृषि, निर्माण वा सरसफाइको काम गरिरहेका हजारौँ नेपालीले यस जीवनयात्राबाट प्रेरणा लिन सक्छन् । सबैले ६ वटा रेस्टुरेन्ट खोल्नुपर्छ भन्ने छैन, सबैले महँगो गाडी चढ्नुपर्छ भन्ने पनि छैन । तर, आफ्नो कामलाई सम्मान गर्ने, सीप सिक्ने, अवसर चिन्न सक्ने र कठिन दिनमा पनि आशा नमार्ने शिक्षा भने सबैका लागि उपयोगी छ ।

अनु गुरुङको जीवनमा समेटिएको यो सत्य कथा कुनै एउटा व्यक्तिको सफलताको कथा होइन, यो त युरोपका गल्लीहरूमा पसिना बगाइरहेका हजारौँ नेपालीका सपना, संघर्ष र सम्भावनाको प्रतिविम्ब हो ।

महिनाको चार सय युरो तलबबाट शुरू भएको रोजगारीको यात्रा आज अत्याधुनिक गाडीको स्टेयरिङसम्म आइपुग्नु आफैँमा एउटा प्रेरणादायी उपलब्धि हो । तर, सफलताको वास्तविक उचाइ त्यतिबेला नापिन्छ, जब आफू उक्लिएको भर्‍याङ अरूका लागि पनि उक्लिने बाटो बनाइन्छ । अनु गुरुङले ५४ जनाका लागि रोजगारीको ढोका खोलेर आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिको साँघुरो घेराबाट बाहिर निकालेकी छिन् ।

null

समय र परिस्थितिले दिएको ठक्कर सहँदै, पसिनाले आफ्ना सपनालाई सिँच्दै र परिश्रमले भाग्यको बाटो कोर्दै यहाँसम्म आइपुग्नु चानचुने कुरा होइन ।

अझ सफलताको शिखरमा पुग्दा पनि विनम्रताको जरा नबिर्सनु उनको व्यक्तित्वको सुन्दर पक्ष हो । अनु गुरुङको जीवनयात्राले विदेशको भूमिमा पसिना बगाउनु बाध्यता हुन सक्छ, तर त्यही पसिनालाई अरूका लागि अवसरमा बदल्न पनि सकिन्छ भन्ने शिक्षा दिएको छ ।

अनु गुरुङको वास्तविक उपलब्धि उनले कति कमाइन् भन्नेमा मात्र सीमित छैन; उनले आफ्नो मेहनतलाई सम्भावनामा, आत्मविश्वासलाई उपलब्धिमा र सफलतालाई अरूका लागि अवसरमा बदल्न सकिन् भन्नेमा छ । यही नै उनको यात्राको सार हो, यही नै सङ्घर्षको सुन्दरता हो ।