काठमाडौं । विश्वमा पहिलोपटक अंग्रेज परास्त गरिएको सिन्धुलीगढी युद्धका योद्धा सिकारी सरदार वंशु (वंश) गुरुङको थातथलोमा कथा यात्रा सम्पन्न भएको छ ।
गाउँका कथालाई विभिन्न विधामा समेट्न पत्रकार डण्ड गुरुङको नेतृत्वमा थालनी भएको तीन दिने कथा यात्राको टीमले सिकारी सरदार वंशु (वंश) गुरुङको थातथलो शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुरको भ्रमण सम्पन्न गरेको हो ।
कथा यात्रा टीममा इतिहासविद प्रा. दिनेशराज पन्त, प्रा.डा. ज्ञानबहादुर कार्की, लेखक मोहन थापा, पत्रकारहरु दीपक श्रेष्ठ, नविन गुरुङ, किरण शाही, नवराज रिजाल, आर्टिष्ट सुरेम देसार लगायत सहभागी थिए ।
जस्पुर पुगेका टोलीलाई सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले खादा, माला लगाएर भव्य स्वागत गरेका थिए ।
स्वागत मन्तव्य राख्दै शुक्लागण्डकी नगरपालिकाका पूर्वमेयर किसान गुरुङले सिन्धुलीगढी युद्धका नायक सिकारी सरदार वंशु (वंश) गुरुङको थातथलोमा इतिहासविद, पत्रकार तथा लेखकहरुलाई कथा यात्रा मार्फत स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।
इतिहासविद प्रा. पन्तले सिकारी सरदार वंशुको गाउँमा आएर साक्षात्कार गर्न पाउँदा खुशी लागेको भन्दै सिन्धुलीगढी युद्धमा वंशुको योगदान अतुलनीय रहेको स्मरण गरे ।
प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङले इतिहासको खोजविनमा कथा यात्राको टीम सफल हुनेमा विश्वास रहेको बताए ।
कार्यक्रममा इतिहासविद प्रा.डा. कार्की, लेखक मोहन थापा लगायतले सिकारी सरदार वंशुका योगदानका बारेमा चर्चा गरेका थिए ।
प्रतिष्ठानका विनु गुरुङले सञ्चालन गरेको सो कार्यक्रममा वंशुका परिवार, जस्पुरका स्थानीय बासिन्दाहरुको सहभागिता थियो ।
कार्यक्रममा इतिहासविद लगायत कथा यात्राका पाहुनाहरुले वंशुको शालिकमा माल्यार्पण गर्दै सम्मान गरेका थिए ।
कथा यात्राका क्रममा वंशुका इतिहास, सिन्धुलीगढी र जस्पुरको सम्वन्ध लगायतका विषयमा स्थानीय बासिन्दा, परिवार लगायतसँग छलफल गरिएको थियो ।