गुरुङ विशेष

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई तमू ह्युलको सम्मान

काठमाडौं । तमू (गुरुङ) समुदायको साझा संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले काठमाडौंस्थित केन्द्रीय समितिको कार्यालयमा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई परम्परागत गुरुङ संस्कारअनुसार प्हैरु (रुप, रिपा) लगाएर सम्मान प्रदान गरेको छ।

गुरुङ समुदायमा कुनै संकट वा चुनौतीपूर्ण अवस्था पार गरेपछि भविष्य सुखद् होस् भन्ने कामनासहित प्हैरु लगाइ स्याई स्याई गर्ने परम्परा छ। सोहीअनुसार जेनजी आन्दोलनका अगुवा सुदनलाई पनि स्याई स्याई गरिएको तमू ह्युल छोँज धीँका अध्यक्ष धनमान गुरूङले जानकारी दिए।

सुदनलाई गुरुङ समुदायको पारम्परिक पोसाक भाङ्ग्रा र फेटासमेत पहिर्‍याइएको थियो। ‘अहिलेको चुनौतीपूर्ण समय पार गर्न सक्ने हौसला मिलोस् भन्ने शुभकामनासहित हामी उहाँलाई सम्मान गर्न आएका हौं। सानो मन नबनाई दृढतापूर्वक अघि बढ्नुस्, गुरुङ समुदाय जहिल्यै साथमा रहने छ,’ परिषदका अध्यक्ष धनमान गुरूङले भने।

गुरुङ समुदायको तर्फबाट आवश्यक सल्लाह, सुझाव तथा सहयोग प्रदान गर्न सधैं तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा सम्मानित सुदन गुरुङले गुरुङ समुदायबाट पाएको सम्मानप्रति आभार प्रकट गर्दै भने, ‘मप्रति गरिएको यस्तो सम्मानको लागि म कृतज्ञ छु। नयाँ नेपाल निर्माणमा सबैसँग सहकार्य गर्दै अघि बढ्न चाहन्छु।’

कार्यक्रममा परिषद्का उपाध्यक्ष दिल गुरुङ, महासचिव राजु गुरुङ, साथै अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।