लन्डन । बेलायत भ्रमणमा रहेकी गण्डकी प्रदेश सांसद सरस्वती गुरुङले बेलायतको सेवा, साना व्यवसाय तथा निर्यातमन्त्री ग्यारेथ थोमससँग भेट गरेकी छन्। गुरूङसहितको नेपाली प्रतिनिधिमण्डलले मन्त्री थोमससँग विशेष गरी नेपालको पर्यटन प्रवर्द्वन, विकास सहायता, वैदेशिक लगानी, भूतपूर्व गोर्खा मुद्दा समाधानलगायत विषयमा छलफल गरेको छ।
सांसद गुरुङले पर्यटन प्रवर्द्वनसँगै बेलायत र नेपाल सरकारबीच नागरिकस्तरमा भ्रमणहरू गर्न सके दुई देशको सांस्कृतिक आदान प्रदानमा टेवा पुग्ने बताइन्। यस्ता नागरिक भ्रमणहरु गर्न सकिए दुई देशका नागरिकहरुबीच सम्बन्ध अझ मजवुत बनाउन सकिने उनको भनाइ छ।
भेटघाटका क्रममा सांसद गुरुङले मन्त्री थोमससँग नेपालको जलविद्युत् क्षेत्रमा अत्यधिक सम्भावना रहेको औंल्याउँदै बेलायती लगानीमा पहल गर्न अनुरोध गरेकी थिइन्। सांसद गुरुङले मन्त्री थोमससँग भूपू ब्रिटिश गोर्खाको पेन्सन लगायत अन्य सेवा सुविधा सम्बन्धमा पनि छलफल गरेकी थिइन्। सांसद गुरुङले भूपू गोर्खाहरुको माग बेलायत सरकारले यथाशीघ्र समाधान गर्नुपर्नेमा पनि जोड दिइन्।
भेटमा सांसद गुरुङले हाल बेलायतमा थुप्रै नेपाली विद्यार्थी पढ्न आएका तर बेलायत सरकारको नियम अनुसार विद्यार्थीहरुले साताको २० घण्टा काम गर्न पाउने प्रावधान पर्याप्त नभएको गुनासो गरेकी थिइन्। २० घण्टाको कमाइले बेलायतको महँगीमा बाँच्न विद्यार्थीहरुलाई असहज भएको स्मरण गराउँदै काम गर्न पाउने समय बढाउन पहल गर्न अनुरोध गरेकी हुन्।
बेलायती मन्त्री थोमसले वास्तवमै नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको र नेपालको प्राकृतिक सौन्दर्यताबारे प्रचार प्रसार एवं प्रवर्धन गर्न सके नेपालको आर्थिक विकास समेत हुने धारणा राखे। मन्त्री थोमसले भूपू ब्रिटिश गोर्खा विषयमा बेलायती रक्षा मन्त्रीसँग कुरा गरी आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटका क्रममा सांसद गुरुङ, तमू समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, देउबहादुर गुरुङसमेत सहभागी थिए।