गुरुङ विशेष

डा गुरूङको ‘केयरिङ फर दि अन्नपूर्ण’ लोकार्पण

काठमाडौं । संरक्षणविद् डा चन्द्रप्रसाद गुरूङको कृति ‘केयरिङ फर दि अन्नपूर्ण’को काठमाडौंमा लोकार्पण गरिएको छ। सन् २००६ सेप्टेम्बर २३ का दिन ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका डा गुरूङको उक्त कृति आइतबार प्रतिनिधिसभा सदस्य मनबहादुर गुरूङ, विद्वान डा जगमान गुरूङ, डा सुमित्रा मानन्धर गुरुङ, डा घनश्याम गुरुङ, डा हुम गुरुङलगायतको उपस्थितिमा लोकार्पण गरिएको हो।

कास्की, सिक्लेसका डा गुरूङले पुस्तकमार्फत अन्नपूर्णको सामाजिक, आर्थिक एवम् सांस्कृतिक परिदृश्यलाई चित्रण गर्ने प्रयास गरेका छन्। सम्भाव्यता अध्ययनको एउटा महत्त्वपूर्ण अध्यायको रूपमा लेखिएको पुस्तकमा घान्द्रुक, जोमसोम, लोमान्थाङ र मनाङमा भएको बृहत् क्षेत्रीय परामर्शको स्मरण गरेको छ।

पुस्तकमार्फत डा गुरूङले विशेष गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक परिदृश्यसँगै पर्यटनले प्राकृतिक स्रोतसाधन र वन्यजन्तुमाथि पारेको प्रतिकूल प्रभावबारे चित्रण गरेका छन्। कार्यक्रममा सहभागी वक्ताहरुले डा गुरूङको निधनबाट समाज र देशको लागि ठूलो क्षति भएको स्मरण गरेका थिए।

वैज्ञानिकद्वय डा भक्तबहादुर रासकोटी र डा रीता आलेले अनुसन्धानको क्रममा रसुवाको लौरीविनायक वरपर पत्ता लगाएको सुनाखरीलाई डा चन्द्रप्रति समर्पित गर्दै Neattio Chandrae नाम दिएकोमा डा रासकोटी र डा आलेलाई सम्मान गरिएको थियो। कार्यक्रम चन्द्र गुरुङ कन्जर्भेसन फाउन्डेसनकी अध्यक्ष शिखा गुरुङको अध्यक्षतामा भएको हो।