प्रवास

तमू धीं युकेको आयोजनामा १५औँ नेपाली मेलाको तयारी, ७ हजार बढी सहभागी हुँदै

लन्डन । तमू धीं युकेको आयोजनामा आउँदो आइतबार लन्डनमा हुने नेपाली मेलाको भव्य तयारी भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै मेलाको १५औं संस्करण तयारी पूरा भएको जानकारी दिएको हो ।

विगत जस्तै यसपटक पनि मेला केम्पटन पार्क रेस कोर्स, सनबरी अन थेम्समा हुँदैछ । मेला बिहान १० देखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । मेलामा साढे ७ हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ ।

तमुधिं यूके अध्यक्ष हरि गुरुङले मेला सबै बेलायतवासी नेपालीमा लक्षित भएकाले सहभागी भइदिन समस्त नेपालीमा अपिल गरेका छन् । उनले यसपटक मेलामा केही फरकपन दिने लक्ष्य अनुरुप फरक झांकी, रुट, स्टेज आदि परिवर्तन गरिएको पनि बताए ।

उनले दूतावास, तमुर्धिं यूके र विभिन्न संघसंस्थाहरुको सहकार्यले मेलाले वृहत रुप लिइसकेको बताए ।

मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङले यसपटक मेलामा विभिन्न मौलिक झांकी र नृत्यका लागि बेलायतस्थित ४२ नेपाली संघसंस्थाहरुले सहभागिता जनाउने बताए ।

उत्कृष्ट झांकी र नृत्य प्रस्तुत गर्ने समूहलाई लन्डन दूतावासले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्रदान गरिने छ भने रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउण्ड, सर्टिफिकेट एवं मेडल प्राप्त गर्नेछन् ।

झांकीमा वा नृत्यमा मात्र उत्कृष्ट प्रदर्शन गर्ने पहिलो समूहलाई ५०० पाउण्ड, रनरअपलाई ३०० पाउण्ड, र सेकेन्ड रनरअपलाई २०० पाउण्ड नगदसहित सर्टिफिकेट एवं मेडल प्रदान गरिनेछ ।

एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउण्ड प्रदान गरिनेछ ।

मेलामा नेपाली खाना, हस्तकला, पोशाक, गरगहना, खाद्य सामग्री जस्ता विभिन्न नेपाली उत्पादनका ५० वटा व्यापारिक स्टल रहने र यो अझ बढ्ने आशा गरिएको उनको भनाइ छ ।

मेलाले बेलायतको नेपाली समुदाय र संघसंस्थाबीच सम्बन्ध प्रगाढ बनाउन एवं स्थानीय समुदायमा नेपाली कला, संस्कृति, रहनसहन र परम्परा चिनाउन मद्दत पुगेको पनि उनले बताए । मेलामार्फत नेपाली कला संस्कृति, भेषभूषा दोश्रो पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य रहेको पनि संयोजकले उल्लेख गरे ।

अर्को आकर्षण राफल ड्र मा ३००, २०० र १०० पाउण्डको पुरस्कार पनि समावेश छ ।

मेला हेर्न १२ वर्षमाथिका वयस्कलाई ५ पाउण्ड, कार पार्किङ ५ पाउण्ड र १२ वर्ष मुनीकालाई निशुल्क प्रवेश व्यवस्था मिलाइएको छ ।

आपतकालिन अवस्थामा प्राथमिक उपचार र सुरक्षा व्यवस्था मिलाइएको छ।

महासचिव डा। विशाल गुरुङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित पत्रकारहरुलाई परिचय गराएका थिए भने तमुधिं यूके अध्यक्ष र आमा समूहकी अध्यक्षले सबै पत्रकारलाई मायाको चिनो प्रदान गरे ।

यसैबीच, कार्यक्रममा विमला सेने नेतृत्वको नेपाल पत्रकार महासंघ यूके नयां कार्यसमितिलाई तमुधिं यूकेले औपचारिक रुपमा स्वागत तथा सम्मान गरेको छ ।

तमुधिं यूकेले नेपालबाट भर्खर लन्डन आइपुगेकी नेपाल प्रेस युनियनकी केन्द्रिय उपमहासचिव दिलिपाश्री अधिकारीलाई पनि सम्मान गरेको थियो ।

सो अवसरमा तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्ष एवम् एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, पूर्व अध्यक्षहरु ज्ञाम गुरुङ र नन्दजंग गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार सुर्य गुरुङ तथा आइसीसी सदस्यहरु लेफिटनेन्ट चन्द्रबहादुर गुरुङ र दिलरास गुरुङ, काउन्सिलर धनबहादुर सार्कीसहित तमुधिं यूकेका ट्रष्टीहरु, सल्लाहकारहरु, आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङ तथा पदाधिकारी, तमुधिं यूकेका इकाई समिति अध्यक्षहरु लगायत सहभागी थिए ।

तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा सन् २००९ देखि ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ मेला गर्दै आएको छ । २०२० मा भने कोभिड महामारीका कारण स्थगित भएको थियो ।