गुरुङ विशेष

तमू सञ्चारकर्मी संघमा मेरो कार्यकाल

सञ्चार क्षेत्रमा लागेका तमू (गुरूङ) सञ्चारकर्मी तथा पत्रकारहरुलाई एकै ठाउँमा सङ्गठित गराउने उद्देश्यअनुरूप यस क्षेत्रमा लागेका अग्रजहरुले परिकल्पना गरेअनुसार स्थापना भएको तमू (गुरूङ) सञ्चारकर्मीहरुको गौरवशाली संस्था तमू सञ्चारकर्मी संघ नेपालको चौथो अध्यक्षको रूपमा कार्यभार सम्हाल्ने महत्त्वपूर्ण अवसर मिल्यो। त्यसका लागि अग्रज, समकालीन तथा सम्पूर्ण सदस्यज्युहरुप्रति आभारी छु।

वि.सं. २०६५ सालमा स्थापना भएको संस्थाले काठमाडौँमा भएको तेस्रो राष्ट्रिय महाधिवेनबाट उपाध्यक्षको जिम्मेवारीसँगै नेतृत्व गर्ने अवसर मिल्यो। झण्डै दुई वर्षको समय कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहँदै २०७६ फागुन १६ र १७ गते लमजुङको सुन्दर पर्यटकीय गाउँ ‘पसगाउँ’ (पैकोनासा)मा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा नेतृत्व गर्ने जिम्मेवारीसहितको अवसर मिल्यो। संस्थाको उद्देश्य र ‘पासगाउँ घोषणापत्र–२०७६’ ले संस्थालाई थप विकास र तमू सञ्चारकर्मीहरुको हकहित र एकतालाई प्राथमिकतामा राख्दै मेरो नेतृत्वमा बनेको कार्यसमितिले संस्थालाई अगाडि बढायो।

नेतृत्व लिएको केही समयमै महामारी कोराना (कोभिड–१९) नेपाल भित्रियो। जसले विश्व नै प्रभावित बनायो। नेपालमा पनि ठूलै प्रकोप सिर्जना गर्‍यो। जुनबेला तमू सञ्चारकर्मी संघले प्रभावित क्षेत्रका तमू सञ्चारकर्मीहरुलाई सहयोगी संस्था र दाताहरुले उपलब्ध गराएको राहत दिने कार्य गर्‍यो। त्यसैगरी उपचार तथा कुनै न कुनै समस्यमा परेको संस्थाका सदस्य तमू सञ्चारकर्मीलाई सद्भाव र सहयोग दिने काम भएको थियो।

संस्थाले वार्षिकरूपमा प्रकाशन गर्दै आएको तमू वर्ष पुस्तक ‘गुरूङ न्युज डकम’को प्रकाशनले पनि कोभिडको डरलाग्दो अवस्थामा समेत निरन्तरता दियो। त्यसैगरी संस्थाले सञ्चालन र प्रदान गर्दै आएको विभिन्न दाताहरुबाट स्थापना गरेको अक्षयकोषको ‘तमू पत्रकारिता पुरस्कार’ले पनि निरन्तरता पायो।

संस्थाको सङ्गठन र शाखा बिस्तार पनि मेरै नेतृत्वमा भएको थियो। यसरी जिल्ला समिति गठन गर्ने क्रममा चितवनमा तुलमान गुरूङको अध्यक्षतामा जिल्ला समिति एटजोन गठन भयो। काठमाडौँमा मनिराज गुरूङको अध्यक्षतामा काठमाडौँ जिल्ला समिति गठन गरियो। त्यस्तै लमजुङमा खुसीमाया गुरूङको अध्यक्षतामा जिल्ला समिति गठन भयो। कास्कीमा जिल्ला समिति गठन भइसके पनि अधिवेशन हुन सकेको थिएन। त्यसैले कास्की जिल्ला समितिको पनि अधिवेशन गरेर युगबहादुर गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्न सफल भयो।

तमू ल्होसाररल्होछार मनाउने क्रममा तमू सञ्चारकर्मी साथीहरुले आफ्नो ठाउँमा क्रियाशील रहेर जिम्मेवारी निभाउँदै आउनुभएको छ। तर, सङ्घीय राजधानी रहेको काठमाडौँमा हुने बृहत तमू ल्होसाररल्होछारको मूल आयोजक समितिको प्रचारप्रसार समितिमा संस्थागतरूपमै तमू सञ्चारकर्मी संघ नेपालले जिम्मेवारी लिने गर्दछ। र, यसको संयोजक संस्थाको अध्यक्ष हुने भएकोले मेरो कार्यकालमा संयोजनकारी भूमिका र जिम्मेवारीका साथ संस्थाको आर्थिक पाटोलाई समेत सहयोग पुग्ने गरी संस्थाको हितमा मेरो नेतृत्व सफल रह्यो। यसमा सबै अग्रजहरु र कार्यसमितिको पनि साथ सहयोग रह्यो।

आफ्नो नेतृत्व समयावधि पूरा भएकोले २०७९ चैत २४–२६ गते कास्कीको सुन्दर पर्यटकीय गाउँ ताङतिङ (तोनी नाँसा)मा पाँचौँ राष्ट्रिय महाधिवेशन सभ्य र भव्यरूपमा सम्पन्न गरी मेरो नेतृत्व नयाँ कार्यसमितिलाई हस्तान्तरण गरियो। अतः लाला गुरूङको नेतृत्वमा रहेको कार्यसमितिका साथीहरुले संस्थालाई चलायमान बनाउनको लागि थप क्रियाशीलता देखाउनुभएको छ। संस्थालाई पारदर्शी ढङ्गले अगाडि बढाइरहनुभएकै छ। यसले संस्थाप्रति सदस्यहरुका साथै तमू संघसंस्थाहरुको आकर्षणसमेत बढाएको महसुस गराएको छ। वर्तमान कार्यसमितिलाई धन्यवाद छ। जय तमू ।। जय एट्जोन ।।।

रविन गुरूङ
निवर्तमान अध्यक्ष, तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपाल केन्द्रीय समिति

नोट : गुरुङ वर्ष पुस्तक २०८१ (मुप्री ल्हो) मा प्रकाशित सामाग्री