प्रवास

हङकङमा ‘जिफाह साँझ–२’ हुँदै, नेपालबाट गुरुङ कलाकारहरु आउँदै

हङकङ । हङकङमा गुरुङ फिल्म एसोसिएसन हङकङ (GFAH) ले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम ‘जिफाह साँझ–२’ आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार कार्यक्रम आगामी नोभेम्बर १७ मा याउ मा तेई कम्युनिटी हलमा हुनेछ। उक्त साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रममा नेपालबाट झन्डै आधा दर्जन गुरुङ कलाकारहरूको प्रस्तुति रहनेछ भने अष्ट्रेलिया, अमेरिका लगायतका गुरुङ चलचित्रकर्मीहरूको सहभागिता रहनेछ साथै हङकङका स्थानीय गुरुङ कलाकारहरूको समेत प्रस्तुती रहनेछ ।

संस्थाका अध्यक्ष, संयोजक तथा गुरुङ चलचित्रकी नायिका माया गुरुङले भनिन्, ‘लामो समय पश्चात दोस्रो संस्करणको कार्यक्रम ल्याउँदैछौँ, यो हाम्रो संस्थाको नियमित कार्यक्रम पनि हो। कोभिडको कहरले पनि हाम्रो कार्यक्रम रोकियो। त्यसैले यो पटक निकै उत्साह र भव्यताका साथ सम्पन्न गर्ने हाम्रो सोच रहेको छ। नेपालबाट धेरै कलाकारहरू पनि ल्याउँदैछौँ, खर्च पनि निकै नै हुँदैछ ।’

करिब ३५–४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

‘हामीलाई विश्वास छ कि हङकङमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली समुदायले हामीलाई सहयोग र साथ दिनु हुनेछ। आफ्नो कला संस्कृती बिर्संदै गएका छौँ, पहिचानहरू गुमाउँदै गएका छौँ, सबैले सहयोग गर्नु हुने नै छ’ उनले भनिन ।

गुरुङ गीत, सङ्गीत र चलचित्रको माध्यमबाट गुरुङ समुदायको कला र संस्कृतीलाई विश्वभर प्रबर्द्धन गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको जानकारी दिए ।

जिफान नेपालका लागि पनि आर्थिक सहयोग जुटाउँदै आएको छ। संस्थाले २०१७ मा ‘जिफाह साँझ–१’ ल्याएको थियो।

जिफाह हङकङ सन् २०१६ मा स्थापना भएको थियो।