ब्यानर

चितवनमा भदौ २९ देखि तमू भाषा प्रशिक्षण हुँदै

तमू भाषासम्बन्धी आधारभूत ज्ञानसहितको पुस्तक 'तमू क्युई' विमोचन गरिने

चितवन । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले सञ्चालन गर्न लागेको तमू भाषा कक्षा शनिबारदेखि सुरू हुने भएको छ। ह्युल छोंज धींको बिहीबार बसेको बैठकले भदौ २९ गतेदेखि असोज १३ गतेसम्म भाषा कक्षाको तालिम दिने निर्णय गरेको हो। भाषा संरक्षणका लागि गत वर्षदेखि भाषा कक्षा सञ्चालन गर्न लागेको ह्युल छोंज धीं चितवनले महाबौद्ध गुम्बा परिसरमा भाषा कक्षा सञ्चालन गर्न थालेको हो।

पहाडी जिल्लाबाट भएको बसाइँसराइको प्रभावसँग पछिल्लो पुस्तामा भाषाप्रतिको ज्ञान कम हुँदै जाँदा संरक्षणको चरणमा आइपुगेपछि तालिम नै आयोजना गर्नु परेको ह्युल छोंज धीं चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन्। ‘हाम्रो पुस्ताले संरक्षण गर्न सक्यो भने बल्ल हामीभन्दा पछिल्लो पुस्तामा कायम रहन्छ’, उनले भनिन्, ‘भाषालाई पुस्तान्तरणकै लागि पनि तालिम आवश्यक परेको हो।’

भाषा कक्षा सञ्चालन उपसमितिका संयोजक कृष्णबहादुर गुरूङले तालिमका लागि आवश्यक सबै तयारी सकिएको जानकारी दिए। उनका अनुसार भाषा कक्षाका लागि आधारभूत ज्ञानसहितको भाषा पुस्तक (तमू क्युई) नै तयार भएको छ। शनिबार तालिमको शुभारम्भसँगै उक्त पुस्तकको विमोचन गरिने उनले बताए।

यसपटक पुस्तक प्रकाशनसहित भाषा कक्षा सञ्चालन गरेपछि भावी दिनमा पनि उक्त पुस्तक प्रयोगमा आउने हुँदा यसवर्षबाट पाठ्यपुस्तक नै तयार पारेर भाषा कक्षा सञ्चालन गर्न लागेको उनले बताए। उनका अनुसार ह्युल छोंज धींले भाषा कक्षालाई वार्षिक कार्ययोजनामा राखेर सञ्चालन गर्ने उनको भनाइ छ।

‘किनकि पुरानै पुस्तालाई भाषा सिकाइएन भने नयाँ पुस्तालाई यसको ज्ञान हुँदैन’, उनले भने, ‘त्यसैले ह्युल छोंज धींले यसलाई हरेक वर्ष आयोजना गर्ने गरी तालिका बनाउँछ, सोहीअनुसार कार्यक्रम आयोजना गर्छ।’ तालिममा ५० जनासम्म उपस्थित हुने अपेक्षा गरिएको छ।

आयोजकका तर्फबाट गुरूङ समुदायको बसोवास रहेका स्थानहरुमा खबर गरेको ह्युल छोंज धीं चितवनका सचिव एवं कार्यक्रमका सहसंयोजक किशोर गुरूङले जानकारी दिए। ‘भरतपुरमा तालिम सकिएपछि विभिन्न इकाइहरुमा पनि कार्यक्रम लैजाने योजना छ’, उनले भने।

तालिममा तुलमान गुरुङ, उमिता गुरुङ, सीता गुरुङ, हरिमाया गुरुङ, कमला गुरुङलगायतले प्रशिक्षण दिनेछन्।