काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि तमु प्ये ल्हु संघ यूकेले २६ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । बाढीपीडितको राहतका लागि संघले उपलब्ध गराएको उक्त रकम बराबरको चेक बुधबार गृहमन्त्री सुधन गुरुङ तमुलाई हस्तान्तरण गरेका हुन् ।

तमु प्ये ल्हु संघ यूकेका पूर्वअध्यक्ष सोम त्होर्जे तमुको नेतृत्वमा बेलायतबाट आएको टोलीले बुधबार राति पुल्चोकस्थित गृहमन्त्री निवासमा पुगेर चेक हस्तान्तरण गरेका थिए । विपद्बबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले संघले आर्थिक सहयोग उपलब्ध गराएको जनाइएको छ।
चेक हस्तान्तरण कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका सदस्य सूर्य थिम्चे तमु, धीरबहादुर त्होर्जे तमु र गमबहादुर चु क्ल्हेप्री तमु, संघकी युथ एम्बेसडर सृजना च्हम्रु तमु सहभागी थिए।

त्यसैगरी, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य बालकाशी म्होब्छे तमु, तमु प्ये ल्हु संघ नेपाल युवा समितिका सल्लाहकार शुक्रराज सर्बुज तमु, तमु प्ये ल्हु संघ काठमाडौंका कोषाध्यक्ष श्रीप्रसाद च्हाक्ली तमु तथा कान्तिपुरका संवाददाता आश क्रोम्छे तमुलगायतको उपस्थिति रहेको थियो।
भोटेकोशीमा आएको बाढीले विभिन्न क्षेत्रमा जनधनको क्षति पुर्याएपछि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम जारी छ। स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय र विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगले विपद्मा परेका परिवारलाई राहत उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तमु प्ये ल्हु संघ यूकेको सहयोगले बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउनुका साथै विपद्का बेला विदेशमा रहेका नेपाली समुदायले देखाएको सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावनालाई समेत उजागर गरेको छ।





