रसुवा । रसुवाको उत्तरगया गाउँपालिकामा बाढीपहिरोमा ज्यान गुमाएका आर्थिक अवस्था कमजोर भएका परिवारका लागि सामूहिक घेवा (मृत संस्कार) गर्ने विषयमा तमु धीं बेलायत र गाउँपालिकाबीच छलफल भएको छ।
बाढीपहिरोका कारण विस्थापित भई नुवाकोटमा बस्दै आएका परिवारलाई घेवा गर्न स्थान र खर्चको समस्या भएपछि सामूहिक रूपमा मृत संस्कार गर्ने प्रस्ताव अघि सारिएको हो।
काठमाडौंको सुन्धारास्थित आशीर्वाद होटलमा भएको छलफलमा उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङसहित तमु धीं बेलायतका पदाधिकारी सहभागी थिए।

विस्थापित परिवारसँगको छलफलमा नुवाकोटका समाजघर तथा गुम्बामा घेवा गर्न समय पाउन कठिन भएको र आर्थिक अभावका कारण कतिपय परिवारले परम्पराअनुसार तीन दिनसम्म गर्नुपर्ने घेवा एक दिनमै सीमित गर्नुपरेको जानकारी आएको थियो। केही परिवारले मृत्यु भएको ४९ दिनभित्रसमेत मृत संस्कार गर्न नसक्ने अवस्था रहेको बताइएको छ।
त्यसपछि आर्थिक रूपमा कमजोर परिवारका लागि निश्चित स्थानमा सामूहिक घेवा गर्ने र त्यसका लागि आवश्यक स्थान, समन्वय तथा सहयोग जुटाउने विषयमा छलफल भएको हो।
छलफलमा तमु धीं बेलायतका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव बिमल गुरुङ, आमा प्रमुख कमलादेवी गुरुङ, कार्यक्रम संयोजक डण्ड गुरुङ, लक्ष्मण गुरुङ र काठमाडौं पोस्टका वासुदेव श्रेष्ठलगायत सहभागी थिए।
सो अवसरमा उपाध्यक्ष चमेली गुरुङले बेलायतबाट सहयोग गर्ने दातालाई धन्यवाद दिँदै सामूहिक घेवा सञ्चालनका लागि थप छलफल र आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाइन्।





