बुटवल । तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् बुटवल उपमहानगरपालिका, रुपन्देहीको आयोजनामा तीनदिने तमु खेमा लिपि प्रशिक्षक प्रशिक्षण तालिम बुटवलमा सुरु भएको छ।
गत असारमा सम्पन्न १० दिने तमु भाषा तथा खेमा लिपि प्रशिक्षणबाट उत्कृष्ट अंक प्राप्त गरेका १५ जनालाई प्रशिक्षक प्रशिक्षण दिइएको हो। यस तालिममा अघिल्लो प्रशिक्षणका उत्कृष्ट १५ सहित जम्मा ३० जना प्रशिक्षार्थी सहभागी छन्।
कार्यक्रममा बोल्दै तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष रामबहादुर गुरुङले प्रशिक्षक प्रशिक्षण तालिमबाट दक्ष प्रशिक्षक तयार गरी जिल्लाभर खेमा लिपिको प्रशिक्षण विस्तार गरिने जानकारी दिए।
उनले खेमा लिपि तमु समुदायको आधिकारिक लिपि भएकाले यसको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि सबै तमु समुदायले खेमा लिपि सिक्न आवश्यक रहेको बताए।
तमु भाषा तथा खेमा लिपि अभियन्ता एवं प्रशिक्षक भीम गुरुङले भावी पुस्तामा तमु भाषा हस्तान्तरण गर्न लिपिको महत्वपूर्ण भूमिका रहने बताए। भाषा संरक्षणका लागि लिपिको ज्ञान अपरिहार्य रहेको उनको भनाइ थियो।
त्यस्तै, तमुस्यो ह्युल छोज धी गुरुङ महिला राष्ट्रिय परिषद् रुपन्देहीकी अध्यक्ष बबिता गुरुङले लिपिबिना भाषाको संरक्षण कठिन हुने भएकाले तमु समुदायले खेमा लिपि सिक्नुपर्नेमा जोड दिइन्।
परिषद् बुटवल उपमहानगर समितिका अध्यक्ष बुद्धिबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला प्रचार सचिव सन्जु बाबा गुरुङ, नेपाल तमु विद्यार्थी छोज धी रुपन्देहीका अध्यक्ष सरोज गुरुङ, जिल्ला सदस्य मोहन गुरुङलगायतले खेमा लिपिको संरक्षण तथा विस्तारका विषयमा धारणा राखेका थिए।
परिषद्का वरिष्ठ उपाध्यक्ष उमा गुरुङले सञ्चालन गरेको कार्यक्रममा तमु भाषा तथा खेमा लिपिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि प्रशिक्षक उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा प्रशिक्षण सञ्चालन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।





