पोखरा । बेलायतको स्विन्डन निवासी तथा पूर्व काउन्सिलर ज्ञानप्रसाद गुरुङलाई तमु धिं नेपालले पोखरामा स्वागत तथा भेटघाट गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–घान्द्रुक स्थायी घर भई हाल बेलायतमा बस्दै आएका समाजसेवी तथा सामाजिक अभियन्ता गुरुङ छोटो समयका लागि नेपाल आउनुभएको अवसरमा तमु धिं नेपालले स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो।
तमु धिं नेपाल केन्द्रीय समिति, कास्की जिल्ला समिति, केन्द्रीय आमा समिति, केन्द्रीय युवा समिति, तमु विद्यार्थी समिति कास्की तथा कोने घोताने तमु समाज कास्कीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो।
कार्यक्रममा तमु धिं नेपालका केन्द्रीय अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्ष गीमाया गुरुङ, कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, आमा समिति अध्यक्ष बालकुमारी गुरुङ, युवा समितिका वरिष्ठ उपाध्यक्ष सुदर्शन गुरुङ, विद्यार्थी समिति अध्यक्ष सतिश गुरुङ तथा कोने घोताने तमु समाज कास्कीका उपाध्यक्ष सइ रुद्रबहादुर गुरुङलगायतले गुरुङलाई फेटा, भाङ्ग्रा, बुके, खादा, गलवन्दी र टोपी लगाएर स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व काउन्सिलर गुरुङले तमु धिं नेपालको स्वागत तथा भेटघाटका लागि धन्यवाद व्यक्त गर्दै तमु समुदायको एकता, जागरुकता र नेतृत्व विकासका लागि सबै संगठित हुनुपर्ने बताउनुभयो। बेलायतको स्विन्डनस्थित नेपाली समाजको नेतृत्व गरिसक्नुभएका तथा कन्जरभेटिभ पार्टीका नेता समेत रहनुभएका गुरुङले राज्यबाट प्राप्त हुने सेवा–सुविधाका विषयमा प्रक्रियागत जानकारीको अभाव देखिएको अवस्थामा तमु समुदायका लागि आफ्नो तर्फबाट सक्दो सहयोग तथा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि तमु धिं नेपालले सञ्चालन गरेको राहत अभियानमा गुरुङले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँले सबै तमु समुदायबाट संकलन हुने राहत रकम तमु धिं नेपालमार्फत एकीकृत गरी प्रभावितसम्म पुर्याउन आग्रह गर्नुभयो। गुरुङले नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङलाई आगामी दिनमा पोखरामा ल्याउने पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले गर्नुभएको थियो भने महासचिव जुना गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।




