समाचार

फोनिजको २७ औँ स्थापना दिवसमा तमु सञ्चारकर्मी संघका केन्द्रिय महासचिव चित्र सोल्टी गुरुङ सम्मानित

चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २७ औँ स्थापना दिवसका अवसरमा तमु सञ्चारकर्मी संघका केन्द्रिय महासचिव चित्र सोल्टी गुरुङ सम्मानित भएका छन्।

फोनिज चितवनको संस्थागत विकास, सुदृढीकरण तथा सशक्त संगठन निर्माणका साथै आदिवासी जनजाति पत्रकारको उन्नयनमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै गुरुङलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको हो। सोही विधामा बिहानी मिडियाका अध्यक्ष आशिक राना मगर पनि सम्मानित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले फोनिज चितवनले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको भन्दै आयोजकलाई धन्यवाद दिए।

उनले इच्छाकामना गाउँपालिकामा फोनिजका पत्रकारलगायत अन्य सञ्चारकर्मीले सूचना सम्प्रेषणमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले आदिवासी जनजातिको हकअधिकारका लागि आफू निरन्तर अघि बढिरहेको बताए। उनले आगामी विश्व आदिवासी दिवसलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न पत्रकारहरूलाई सहयोग गर्न आग्रह गरे।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीले आदिवासी जनजातिको हकअधिकारका विषयमा महासंघले लामो समयदेखि कलम चलाउँदै आएको बताए। उनले आगामी दिनमा पनि आदिवासी जनजातिका मुद्दामा महासंघको तर्फबाट सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा फोनिजकर्मी तथा अन्य सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो भने उक्त कार्यक्रम सँस्थाका अध्यक्ष तुलमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।