भरतपुर । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनले तमू ल्होसार पर्वको आयव्यय सार्वजनिक गरेको छ । शनिबार तमू ह्युल छोँज धीँ चितवनको कार्यालयमा भएको समीक्षात्मक बैठकसँगै कार्यक्रममा भएको आयव्यय सार्वजनिक गरिएको हो ।
तमू ल्होसार पर्व–२०८२ की आर्थिक संयोजक विमला गुरूङका अनुसार तीन दिनसम्म भएको भव्य समारोहमा ११ लाख ५६ हजार ५२० रूपैयाँ आम्दानी हुँदा १६ लाख १२ हजार ३१० रूपैयाँ खर्च भएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि तमू ह्युल छोँज धीँ चितवनले चार लाख, तमू प्ये ल्हु संघ चितवनले दुई लाख ९९ हजार ५२० रूपैयाँ रकम सङ्कलन गरेको थियो ।
तीन दिनसम्म राखिएको व्यावसायिक कक्ष (स्टल)बाट दुई लाख ४० हजार रूपैयाँ सङ्कलन भएको आर्थिक समितिकी संयोजक गुरूङद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । कार्यक्रम स्थलमा ३० वटा व्यावसायिक कक्ष राखिएको थियो । अन्य रकम भने विभिन्न दाताहरुबाट प्रायोजन भएको थियो ।
कार्यक्रम सम्पन्न गर्नका लागि मूल आयोजक समितिद्वारा ३९ वटा शीर्षकमा खर्च गरिएको थियो । प्रतिवेदनअनुसार आम्दानीभन्दा चार लाख ५५ हजार ७९० रूपैयाँ खर्च बढी देखिएको छ । कबोल गरिएका दाताहरुबाट सङ्कलन गरेपछि अपुग रकम पूर्ति हुने उनले बताइन् ।
कार्यक्रममा सबैभन्दा ठूलो रकम टेन्टमा खर्च भएको छ । जसमा तीन लाख ६४ हजार ९०० रूपैयाँ खर्च भएको छ । यातायातमा दुई लाख ३६ हजार चार सय, सांस्कृतिक कार्यक्रममा एक लाख ५० हजार, कार्यक्रममा आवश्यक विभिन्न प्रकाशनमा एक लाख ३० हजार २२५ र साउन्ड सिस्टममा एक लाख १५ हजार रूपैयाँ खर्च भएको छ ।
समीक्षाका क्रममा कार्यक्रम भव्यरुपमा सफल भएको निष्कर्ष निकालिएको छ । पहिलोपटक दुई संस्थाले संयुक्तरुपमा मनाएको ल्होसार सोचेभन्दा राम्रो भएको दुवै संस्थाले दाबी गरेका छन् । आगामी दिनमा पनि दुवै संस्था मिलेर कार्यक्रम गर्न तयार हुने तमू ह्युल छोँज धीँ चितवनका अध्यक्ष बुद्धिमान गुरूङ र विक्रम च्हम्रु तमूले प्रतिबद्धतासमेत जाहेर गरेका छन् । पुस १३, १४ र १५ गते विशालचोकस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको मैदानमा कार्यक्रम आयोजना गरिएको थियो ।





