ब्यानर

तमू विद्यार्थीको पार्षद् सभा चितवनमा हुँदै

भरतपुर । नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ केन्द्रीय समितिले संस्थाको राष्ट्रिय पार्षद् सभा चितवनमा गर्ने तयारी गरेको छ । छोँज धीँका केन्द्रीय अध्यक्ष पवन गुरूङका अनुसार देशभरबाट करिब एक सय जना प्रतिनिधि सहभागी गराउने गरी सभा गर्ने तयारी गरिएको छ ।

तमू विद्यार्थीको जिल्ला शाखा २२ जिल्लामा छन् । त्यसबाहेक सात÷आठवटा जिल्लामा नयाँ शाखा गठन गर्ने तयारी भइरहेको उनले बताए । ‘सबै गरेर करिब २६ जिल्लाबाट प्रतिनिधिहरु चितवन आउने छन्’, उनले भने, ‘एउटा जिल्लाबाट तीनदेखि पाँच जनासम्म प्रतिनिधि माग गरेका छौँ ।’ पूर्वमा झापादेखि पश्चिममा बाँकेसम्मका तमू विद्यार्थीहरु चितवन आउने छन् ।

स्थानीय व्यवस्थापनमा चितवन जिल्ला शाखालाई जिम्मेवारी दिइएको उनले बताए । उनका अनुसार सभामा वार्षिक कार्यसमीक्षा तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ । त्यसबाहेक, विभिन्न विषयमा विज्ञता प्राप्त गरेका व्यक्तिलाई मुख्य वक्ताको रुपमा समेत उपस्थिति गराउने तयारी भएको उनले बताए ।

केन्द्रीय समितिले शनिबार चितवन जिल्ला समितिसँगै तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनलगायतका संघसंस्थासँग पनि छलफल गरेको छ । चितवन जिल्ला अध्यक्ष रूक्शन गुरूङको अध्यक्षतामा भएको छलफलमा तमू ह्युल छोँज धीँ चितवनका अध्यक्ष बुद्धिमान गुरूङ, तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमू, तमू ह्युल छोँज धीँका अग्रज नेताहरु पदमबहादुर गुरूङ, चन्द्रमान गुरूङ, देवेन्दबहादुर गुरूङ, गजबहादुर गुरूङ, शारदा गुरूङ, खेगी गुरू चित्र गुरूङलगायतको उपस्थिति थियो ।

छोँज धीँले यही पुस २६ र २७ गते राष्ट्रिय पार्षद् सभा आयोजना गर्ने तयारी गरेको हो ।