गुरुङ विशेष

तमूसञ्चारकर्मी संघद्वारा ६ जना सञ्चारकर्मी पुरस्कृत

काठमाण्डौ । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपाल (एट्जोन) द्वारा स्थापित विभिन्न शीर्षकको पत्रकारिता पुरस्कारबाट ६ जना सञ्चारकर्मी पत्रकारहरु परस्कृत भएका छन् । गुरुङ समुदायको महान पर्व तमू ल्होसारको पूर्व सन्धामा बुधबार काठमाण्डौ स्थित तमू बौद्ध सेवा समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई पुरस्कृत गरिएको हो ।

एट्जोनले विभिन्न सहयोगी दाताहरुको आर्थिक सहयोगमा स्थापित अक्षयकोष मार्फत प्राप्त ब्याज रकमबाट वितरण गरिने उक्त पुरस्कारबाट पुरस्कृत हुनेहरुमा पूर्वप्रधानसेनापति छत्रमान सिंह–कमला गुरुङ पत्रकारिता पुरस्कार गैर गुरुङ तर्फ कान्तिपुर टेलिभिजनमा कार्यरत भिडियो पत्रकार श्यामकृष्ण श्रेष्ठ र गुरुङतर्फ रासस कास्की संवादाता धन बहादुर गुरुङ रहेका छन् । उनीहरुलाई जनही २० हजार १ रुपैयाँ नगद सहित फेटा र सम्मानपत्रले पुरस्कृत गरिएको हो । यो पुरस्कार पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङ दम्पत्तीले स्थापना गरिदिएको हो ।

यस्तै समाजसेवी भद्राकुमारी घलेले स्थापना गरिदिएको १० हजार १ राशीको सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार नेपाल टेलिभिजन इटहरी च्यानलमा कार्यरत प्राविधिक रबिन गुरुङलाई प्रदान गरिएको छ भने तमू ल्होसार मूल आयोजक समिति काठमाण्डौले स्थापना गरिदिएको तमू ल्होसार मूल आयोजक तमू पत्रकारिता पुरस्कार रेडियो सगरमाथाका समाचार वाचक तथा कार्यक्रम निर्माता, प्रस्तोता इच्छा गुरुङलाई प्रदान गरिएको छ ।

त्यसैगरी तमू भाषाका आदिकवि हर्क बहादुर गुरुङको स्मृतिमा उनको परिवारले स्थापना गरिदिएको १० हजार १ राशिको आदिकवि हर्क बहादुर गुरुङ स्मृति तमू पत्रकारिता पुरस्कार लमजुङको रेडियो मस्र्याङदीमा तमू भाषाको समाचार सम्पादक तथा प्रस्तोताको रुपमा कार्यरत खुशीमाया गुरुङ पुरस्कृत भएका छन् भने समाजसेवी लक्ष्मी गुरुङले स्थापना गरिदिएको १० हजार १ राशिको लक्ष्मी गुरुङ तमू पत्रकारिता पुरस्कार सुनौलो नेपाल अनलाईनमा कार्यरत चितवने सञ्चारकर्मी सूचना गुरुङलाई प्रदान गरिएको छ ।

यस्तै कार्यक्रममा संघले विगत १४ वर्षदेखि प्रकाशन गर्दै आईरहेको गुरुङ न्युज डटकम वर्ष पुस्तक समेत विमोचन गरिएको थियो ।

तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपाल (एट्जोन)का अध्यक्ष लाला गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, विशिष्ट अतिथि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का महासचिव अधिवत्ता राजु गुरुङ, तमू बौद्ध सेवा समितिका अध्यक्ष क्याप्टेन नारायण बहादुर गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज संघिय समितिका महासचिव समिर बलामी पूर्वप्रधानसेनापति छत्रमान सिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारदाता कमला गुरुङ, आदिकवि हर्क बहादुर गुरुङ स्मृति तमू पत्रकारिता पुरस्कारदाता पवित्रा गुरुङ, तमू ल्होसार मूल आयोजक तमू पत्रकारिता पुरस्कारदाताको तर्फबाट संयोजक धर्मराज गुरुङ (राजु) लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोन्धन गर्दै प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले एट्जोनको यस कार्यले समुदायका क्रियासिल सञ्चारकर्मीहरुलाई थप क्रियासिल रहन उत्प्रेरणा मिल्ने भएकोले यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । यस्तै विशिष्ट अतिथिको रुपमा सम्बोन्ध गर्नुहुदै तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का महासचिव अधिवत्ता राजु गुरुङले एट्जोनद्वारा संचालित गुरुङ न्युज डटकम अनलाईनलाई गुरुङ समुदायको मूलधारको मिडियाको रुपमा विकाश गर्नुपर्नेमा जोड दिदै त्यसको निरन्तरताको लागि परिषद्ले सबै खाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

वि.सं. २०६५ सालमा स्थापना भएको एट्जोनले २०६८ सालदेखि विभिन्न शीर्षकमा नगद सहितको तमू पत्रकारिता पुरस्कार वितरण र चालु ल्होमा सफलता प्राप्त गर्ने गुरुङहरुको व्यक्तिगत प्रोफाईल तयार पारी गुरुङ न्युज डटकम वर्ष पुस्तक प्रकाशन गर्दै आईरहेको छ ।