बेलायती सेनामा कार्यरत रहँदैदेखि फोटोग्राफीमा रुचि थियो । मौका मिल्यो कि फोटोहरू खिचिरहन्थेँ । यही सोख कालान्तरमा मेरो पहिचान बन्दै गयो । रिटायर्ड भएपछि पनि फोटोग्राफीलाई निरन्तरता दिएँ । नेपाली समाज यूके, गोर्खास्डटकम, एसके नेपाल डटकमलगायत विभिन्न मिडियामा फोटोहरू पठाउँथेँ । मेरो कामप्रतिको लगन र समुदायप्रतिको मायाका कारण सबैबाट प्रोत्साहन पाउन थालेँ ।
यसै क्रममा हामीले बेलायतमा एभरेस्ट टाइम्स पत्रिका प्रकाशन सुरु गर्यौं । १२ वर्षसम्म निरन्तर रूपमा पत्रिका निकालेर परदेशमा बसेका नेपालीको सूचना र मनोसञ्जनको संवाहक बन्यौँ । पत्रिका निकै राम्रो चलिरहेको थियो, पाठकको साथ पनि प्रशस्त थियो । तर सन् २०१९ मा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले सबै क्षेत्रजस्तै पत्रिकालाई पनि प्रभावित पार्यो । पत्रिका बन्द नै गर्नुपर्यो ।
पत्रिका बन्द भए पनि बेलायतमा रहेका नेपाली समुदायमाझ सत्य र निष्पक्ष पत्रकारिताको रिक्तता परिपूरण गर्नु नै थियो । यसै सन्दर्भमा, अब कसरी पत्रकारितालाई अघि बढाउने भन्ने भयो । अग्रज तथा साथीभाइसँग कुरा पनि भयो । सबैसँगको कुराकानी र सल्लाहपछि निष्कर्षमा पुगेँ, ‘पत्रिकाको युग बिस्तारै समाप्त हुँदैछ, समय अनलाइनको हो ।’ यही सोचले नयाँ यात्राको ढोका खोलिदियो । आफ्नै स्वामित्वमा आधुनिक, विश्वसनीय अनलाइन समाचार पोर्टल सुरु गर्ने योजना बनाएँ । अनि १४ सेप्टेम्बर २०२० मा शुरू भयो गोर्खामिडियाडटकम । अनलाइन नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले शुभारम्भ गरेका हुन् ।
‘सूचना र समाजिक सेवा सँगसँगै’ मुख्य सन्देशसहित सुरु भएको अनलाइन पत्रकारिताको यात्राले कसरी पाँचौँ वसन्त पूरा गर्यो पत्तै भएन । फोटोग्राफीप्रतिको सोखबाट सुरु भएको सञ्चार यात्रा समुदायको आवाज, सूचना र पहिचानसहितको मिडियाको रूप स्थापित हुने क्रममा छ । यसले मलाई फोटो पत्रकार तथा समाजसेवीको पहिचान मात्रै दिएको छैन, बेलायका नेपाली समुदायमाझ अग्रणी सञ्चारमाध्यमका रूपमा उचाइ लिँदै छ ।
तर पनि यो बाटो त्यती सहज छैन । विश्वव्यापी रूपमा मिडियाको बजार खुम्चँदो छ । ठूला मिडियाहरू पनि यसबाट प्रभावित छन् । यस्तो अवस्थामा हामी विभिन्न कठिनाइका बाबजुत अविछिन्न यात्रामा अघि बढिरहेका छौँ । गोर्खा मिडियालाई जीवन्त राख्नमा आमपाठक/दर्शक, विज्ञापनदाता, संघसंस्था, शुभेच्छुक, शुभचिन्तकहरुको प्रत्यक्ष, अप्रत्यक्ष महत्वपूर्ण भूमिका रहेको छ । त्यसमा नेतृत्वको योजना र कार्यान्वयन शैली, कर्मचारीको लगाब अपरिहार्य रहन्छ ।
बेलायतको परिवेश सुहाउँदो, पाठक/दर्शकको अभिरुची र आवश्यकतालाई मध्यनजर गर्दै गोर्खा मिडियाले समाचार सामग्री सम्प्रेषण गर्दै आएको छ । ती समाचार सामग्रीलाई पाठक/दर्शकले रुचाइदिनुको छ भन्ने मानक हामीले गोर्खा मिडियाको साइट भिजिटर, फेसबुक पेज फलोअर्स र लाइक, गोर्खा मिडिया युट्युब च्यानलको सस्क्राइब्स र औपचारिक-अनौपचारिक माध्यमबाट आउने प्रतिक्रियालाई लिने गरेका छौं ।
यसक्रममा हामीले समाचार प्रस्तुति र समाजसेवालाई सँगसँगै अघि बढाएका छौँ । हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने गरेका छौँ । जहाँ विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्ने गरेका छौँ । सामाजिक कर्ममार्फत कर्मभूमि र मातृभूमिलाई सम्झिने प्रयत्न गर्ने गरेका छौँ ।
वार्षिकोत्सव तथा सम्मान
पहिलो वार्षिकोत्सव १४ सेप्टेम्बर २०२१ मा मनाएका थियौँ । उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगर प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा पर्वतका अग्रज कलाकार नन्दा पुनमगर र लमजुङका अग्रज कलाकार तथा अभिनेता गजेन्द्र गुरुङलाई जनही नगद १० हजार रुपैयाँ र प्रमाणपत्रसहित गोर्खा मिडिया वार्षिक स्रष्टा सम्मान प्रदान गरिएको थियो ।
उत्कृष्ट कर्मचारी सम्मानतर्फ पत्रकार टीकाराम तामाङ २० हजार रुपैयाँ नगद र प्रमाणपत्र तथा प्राविधिकतर्फ ओम लामा १० हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मानित हुनुभएको थियो ।
दोस्रो वार्षिकोत्सव २५ सेप्टेम्बर २०२२ मा मनाएका थियौँ । जसमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुवराज अर्याल हुनुहुन्थ्यो । त्यस वर्ष समाजसेवी सम्मानबाट ‘माइला-कान्छा अभियान बेलायत’का अभियन्ताद्वय पार्वती गुरुङ (माइला) र माया गुरुङ (कान्छा) लाई सम्मान गर्यौँ ।
गोर्खा मिडिया वार्षिक स्रष्टा सम्मान जनही नगद १० हजार रुपैयाँ र प्रमाणपत्रसहित तनहुँका लोकगायक कृष्ण थापामगर र सिन्धुलीकी सेलो गायिका अन्जु थोकर तामाङ सम्मानित हुनुभयो । उत्कृष्ट कर्मचारी सम्मानतर्फ सहसम्पादक स्वयंसेवी प्रकाश गुरुङ २० हजार रुपैयाँ नगद र प्रमाणपत्र तथा भिडियो सम्पादक सागर तामाङ १० हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मानित हुनुभयो ।
यसैगरी, तेस्रो वार्षिकोत्सव भने रोयल बोरो अफ ग्रीनवीचका उपमेयर जीत रानाभाटको प्रमुख आतिथ्यतामा १७ सेप्टेम्बर २०२३ मा मनायौँ । जसमा समाजसेवी सम्मानबाट साहित्यकार माया गुरुङ र युवा व्यवसायी राजन खकुराल सम्मानित हुनुभयो ।
गोर्खा मिडिया वार्षिक स्रष्टा सम्मान लोक तथा दोहोरी गायक रामजी पौडेल र तनहुँका गायक सन्तराज विक जनही १० हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत हुनुभएको थियो । उत्कृष्ट कर्मचारी सम्मानबाट भावना लम्साललाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
चौथो वार्षिकोत्सव २० अक्टोबर २०२४ मा नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष विमला सेनेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । जसमा समाजसेवी सम्मानबाट समाजसेवी तथा तमु धीं यूकेका तत्कालीन अध्यक्ष हरि गुरुङ, समाजसेवी तथा तमु समाज यूकेका निवर्तमान अध्यक्ष
शिवकुमार गुरुङ, ख्यातिप्राप्त युवा व्यवसायी धन तामाङ र युवा समाजसेवी तथा कलाकार सिर्जना गुरुङ सम्मानित हुनुभएको थियो । त्यस वर्ष गोर्खा मिडिया वार्षिक स्रष्टा सम्मानबाट लमजुङकी लोकगायिका माया गुरुङ (देवीमाया थापा) र कास्कीका अभिनेता गमबहादुर गुरुङ जनही नगद १५ हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत हुनुभएको थियो । चौथो वार्षिकोत्सवदेखि भने हामीले स्रष्टालाई दिइँदै आएको नगद पुरस्कार ५ हजार बढाएर १५ हजार रुपैयाँ पुर्याएका हौं ।
सत्कर्मका प्रयासहरू अघि बढाउने क्रममा १४ सेप्टेम्बर २०२५ मा पाँचौँ वार्षिकोत्सव पनि मनाउन सफल भयौँ । लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी प्रमुख अतिथि रहेको कार्यक्रममा विगतका वर्षझैँ समाजसेवी, कलाकार, प्रायोजक र कर्मचारीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरियो ।
सम्मानित हुनेमा बेलायतमा रहेर गोर्खाहरूको हकअधिकारका लागि लामो समयदेखि संघर्षरत अधिकारकर्मी बीजीडब्लुएसका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान जेपी, समाजसेवी तथा राजनीतिज्ञ काउन्सिलर नीना गुरुङ, समाजसेवी तथा तमु प्ये ल्हु संघ यूकेका संस्थापक उपाध्यक्ष सोम त्होर्जे तमु, नृत्य निर्देशक एवं प्रशिक्षक कविता घर्ती मगर गुरुङ, गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्स खेलाडी एवं प्रशिक्षक सन्तोष राई, गायिका पवित्र गुरुङ रहनुभएको थियो ।
नृत्य निर्देशक घर्ती गुरुङ र गायिका गुरुङलाई जनही १५ हजार तथा कर्मचारीतर्फ सीताराम गुरागाईं २० हजार रुपैयाँ नगदसहित सम्मानित हुनुभयो ।

शिक्षा, खेलकुद, विपन्न र पीडितको साथमा गोर्खा मिडिया
हाम्रो नारा नै छ, ‘सूचना र समाजिक सेवा सँगसँगै ।’ त्यसैले त समाचार र सूचना सम्प्रेषणसँगै सामाजिक कार्यमा पनि जोडिइरहेका छौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालय र सोही पालिकाको वडा नम्बर ४ मा अवस्थित मंगला माध्यमिक विद्यालयमा २०८१ सालमा ५० हजार रुपैयाँ बराबरको ड्रम, भलिबल, नेटसहित खेलकुद सामग्री सहयोग गरेका थियौँ ।
नुवाकोटमै आयोजित पञ्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगिता २०८० लाई ३१ हजार र २०८१ मा पुरुषतर्फ प्रथम पुरस्कार २२ रुपैयाँ सहयोग प्रदान गर्यौँ । जनकल्याण सामुदायिक पाठशाला, पञ्चकन्या गाउँपालिका-३ मा नुवाकोटलाई दुई पटक गरी ३५ हजार रुपैयाँ प्रदान गरेका थियौँ ।
यस्तै, पोखरामा आयोजित एकल गुरुङ गीत तथा नृत्य प्रतियोगितमा प्रथम पुरस्कार ३० हजार रुपैयाँ प्रायोजन र स्टार्स सामूहिक नृत्य प्रतियोगिताका लागि १० हजार रुपैयाँ प्रदान गरेका थियौँ ।
नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय कास्कीमार्फतलाई १ लाख ५० हजार रुपैयाँ र द्वन्द्वकालका घाइते पञ्चकन्या-४ कुलकुले नुवाकोटका संगीतकर्मी दिनेश तामाङलाई १० हजार नगद सहयोग गरेका छौँ । तादीकी मिर्गौलापीडित साइँली तामाङलगायत विभिन्न विपन्न नागरिकलाई पनि सहयोग गरेका छौँ । कर्मचारीको तलब, भत्ता, प्रशासनिक खर्चबाहेक सामाजिक सेवातर्फ वार्षिक रुपमा स्रष्टा र कर्मचारी पुरस्कारका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएका छौं भने पर्दा बेलायत र नेपालमा विभिन्न सहयोगलाई निरन्तरता दिँदै आएका छौं ।
कोरोनाकालमा बेलायतवासी गोर्खा परिवारसहित नेपाली ज्येष्ठ नगारिक आमाबुबालाई स्वास्थ्य सुरक्षाका सामग्री मास्क, सेनिटाइजर वितरणलगायत काममा पनि गोर्खा मिडियाले मद्दत पुर्याउँदै आएको छ । सकेसम्म यो पुण्यकर्मलाई निरन्तरता नै दिनेछौँ ।
गोर्खा मिडियाले विभिन्न घुम्ती र मोडहरू पार गर्दै ३१ अगस्ट २०२५ मा अर्को एउटा विल्कुल फरक कार्यक्रम आयोजना गर्यो । कार्यक्रम थियो, ‘म्युजिकल सोलो विथ पवित्र गुरुङ एन्ड डीएमटी ब्यान्ड च्यारिटी नाइट’ । यो सम्पन्न गर्न हामीले निकै नै जोखिम मोलेका थियौँ । हाम्रो टिमको मिहिनेत तथा सबै शुभेच्छुकको सहयोगका कारण उक्त कार्यक्रम सानदार ढंगले सम्पन्न भयो ।
यसबाट संकलित ८ लाखभन्दा बढी रकम नुवाकोटको दुर्गम पालिका दुप्चेश्वरको वडा नम्बर ४ मा अवस्थित गोल्फुभन्ज्याङ माध्यमिक विद्यालयलाई सहयोग गर्यौँ । यो कार्यक्रम सफल बनाउन हाम्रो धेरै शुभचिन्तकले सहयोग गर्नुभएको थियो । त्यसमा पनि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, एनआरएनए आईसीसीका सल्लाहकार सूर्य गुरुङ, डीएमटी ब्यान्डका संस्थापक अध्यक्ष दिनेश गुरुङ, गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङ तथा प्राविधिक ओम लामाको सहयोग विशेष रह्यो ।
च्यारिटी कार्यक्रममा गायिका पवित्र गुरुङ र डीएमटी ब्यान्डको प्रस्तुति थियो । यी कार्यक्रमहरू हाम्रा प्रीय पाठक, दर्शक, स्रोता तथा शुभेच्छुकको मायाकै कारण मात्रै सफल भएका हुन् । उहाँहरूको साथबिना हामी अपुरो/अधुरो नै रहन्छौँ ।
यसरी, सूचना र सामाजिक सेवालाई सँगसँगै अघि बढाउने यात्रामा गोर्खा मिडिया यूके निरन्तर प्रतिबद्ध छ । आमनागरिकलाई विश्वसनीय समाचार र सूचनामार्फत सुसूचित गर्ने लक्ष्यलाई प्रभावकारी बनाउन अब गोर्खा मिडियालाई अझ सशक्त र समयअनुकूल रूपमा यसैगरी उभ्याइरहनुपर्नेछ । यसका लागि हिजोजस्तै भोलि पनि तपाईं–हामीले हातेमालो गर्दै अघि बढ्नु अनिवार्य छ ।
मिलन तमु
प्रबन्ध निर्देशक,गोर्खा मिडिया





