काठमाडौँ । तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदले हरेक वर्षझैँ यस वर्ष पनि स्वर्गीय श्रीप्रसाद गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। संस्थाका संस्थापक संरक्षक तथा अगुवाका रूपमा परिचित गुरुङको १२औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गरिएको हो। तमू ह्युल छोँज धीँकै सभाहलमा भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष डम्बर कोके गुरुङले स्वागत मन्तव्य राखेका थिए।
स्व गुरुङको व्यक्तित्व, नेतृत्व क्षमता तथा संगठन निर्माणमा उनले पुर्याएको योगदानबारे पनि चर्चा गरेका थिए। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले स्व गुरुङलाई आफ्नो ‘गुरु’को रूपमा स्मरण गर्दै आफू संघ–संस्था तथा सामाजिक आन्दोलनमा लाग्ने प्रेरणा रहेको बताए। श्रीप्रसाद गुरुङको “पार्टीभन्दा माथि जाति र जातिभन्दा माथि देश” भन्ने सोचका कारण तमू ह्युल छोँज धीँ आजको अवस्थामा पुगेको उनले बताए।
स्व गुरुङले स्थापना गरेको एकताका कारण अहिले ९५ प्रतिशत गुरुङ समुदाय एकजुट भइसकेको बताउँदै बाँकी पाँच प्रतिशतलाई पनि चाँडै एकताबद्ध गराउन आवश्यक रहेको उनले बताए।
कार्यक्रममा संस्थाका पूर्व सल्लाहकार डेलमान गुरुङ, योजना आयोगका पूर्व सदस्य गणेश गुरुङलगायतले पनि स्व गुरुङको संघर्ष, त्याग र अगुवाइका पक्षहरूलाई सम्झिँदै मन्तव्य राखेका थिए।
कार्यक्रम तमू ह्युल छोँज धीँका अध्यक्ष धनमान गुरूङको अध्यक्षतामा सम्पन्न भएको हो। यसपटक पोखरामा समेत स्वर्गीय गुरुङको स्मृति मनाउँदै छ भने आगामी दिनमा देशैभरि मनाउने वातावरण सिर्जना गर्ने तमू ह्युल छोँज धीँले जनाएको छ।






