पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेकी पूर्वअध्यक्ष, तमु धीं युके आमा समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङलाई तमु धिं नेपालले स्वागत र सम्मान गरिएको छ ।
सामाजिक सेवा, नागरिक पैरवी एवम नागरिक अधिकारका लागि क्रियाशील वरिष्ठ समाजसेवी गुरुङ नेपाल आगमनको अवसरमा तमुधि नेपालले पोखरा ९ नयाँबजारस्थित तमुधिं नेपालको सभाहलमा स्वागत सम्मान एवं अन्तक्रिया कार्यक्रम गरिएको हो ।
तमु समुदायको उदाहरणीय ब्यक्तित्व गुरुङलाई तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष (सु.मे.) श्रीप्रसाद गुरुङ, तमु धिं नेपाल केन्द्रीय आमा समिति अध्यक्ष पवित्रादेवी गुरुङ, युवा अध्यक्ष रमेश गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, चिउली पार्चे तमु समाज अध्यक्ष क्याप्टेन शम्शेर गुरुङ लगायत सहभागीहरुले खादा, घलेक, क्रमु, फुल लगायत तमु धिं नेपालको वार्षिक प्रकाशन तमु सुँबाट स्वागत गरिएको थियो ।
वरिष्ठ समाजसेवी पुनम गुरुङले तमु धिं नेपालको पारिवारिक आत्मिय स्वागतको निम्ति धन्यवाद व्यक्त गर्दै तमु धि आफ्नो लागि समुदाय, मौलिकता, पहिचान, संस्थागत विकास समाज बुझाउने पाठशाला साथै जीवन सिकाउने धरोहर भएको बताए । तमु धिं नेपालसँगको सम्बन्ध, संस्थापक अध्यक्ष कर्म तमु आफ्नो रोलमोडल र वर्तमान अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वबाट अति नै प्रभावित रहेको भन्दै उनले आफु जहिले पनि तमु धिंसँगै रहिरहने बताए ।
सो अवसरमा गैरआवासीय नेपाली, गोर्खाज, तमु समुदाय, अधिकार, युवा पुस्ता, राजनीतिक चेतना साथै सहभागिताको बिविध पक्षमा आफ्ना अनुभव, उठाइएका आवाज, अभियान, भुमिका साथै योगदानको बारेमा जानकारी एवम अन्तक्रिया गरिएको थियो ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष (सुमे) श्रीप्रसाद गुरुङले गरेका थिए । साथै सहभागीहरुले समाजसेवी गुरुङको योगदान र अभिव्यक्तिबाट आफुहरु प्रोत्साहित भएको बताए ।






