चितवन । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनको अध्यक्षमा बुद्धिमान गुरूङ निर्वाचित भएका छन्। शनिबार र आइतबार भएको पाँचौँ जिल्ला अधिवेशनबाट अध्यक्षका प्रत्यासी दुई जनामध्ये मीना गुरूङलाई पछि पार्दै बुद्धिमान गुरूङ निर्वाचित भएका हुन्। बुद्धिमान गुरूङले ५३ मत प्राप्त गरेर विजयी हुँदा मीना गुरूङले जम्मा ३५ मत प्राप्त गरेकी थिइन्।
कूल ९७ मत खस्दा ९ मत बदर भएको थियो। सर्वसम्मति गराउने प्रयास गर्दा सफल नभएपछि नयाँ नेतृत्व चयन गर्नको आइतबारसम्म समय लम्बिएको थियो। अध्यक्षबाहेक अन्य पद भने सर्वसम्मत भएका छन्।
समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर गुरूङ, उपाध्यक्षमा किशोर गुरूङ, सचिवमा बुद्धिमान गुरूङ, सङ्गठन सचिवमा उमिता गुरूङ, प्रचार सचिवमा ज्ञानदेवी गुरूङ, कोषाध्यक्षमा घनसिंह गुरूङ र सहकोषाध्यक्षमा यमबहादुर गुरूङ सर्वसम्मत भएका हुन्।
आगामी तीन वर्षे कार्यकालको लागि २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।






