दमौली । विश्वमा पहिलोपटक अंग्रेज फौजलाई परास्त गरेको सम्झनामा २५८औं सिन्धुलीगढी विजयोत्सव मनाइएको छ ।
सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले आफ्नो पुख्र्यौली थलो ढोर जस्पुरमा एक समारोहको आयोजना गरी सिन्धुली गढी विजयोत्सव मनाएका हुन् ।
सिन्धुली गढीमा १८२४ साल असोज १५ गतेका दिन गोर्खाली फौजले अंग्रेज फौजलाई पराजित गरेका थिए । गोर्खाली फौजका शिकारी सरदार वंशु (वंश) गुरुङ (लेम) को नेतृत्वमा अंग्रेज फौज परास्त गरेको इतिहास छ । सोही दिनको सम्झनामा प्रतिष्ठानले हरेक वर्ष असोज १५ गतेका दिन विजयोत्सव मनाउँदै आएको छ ।
यस वर्ष पनि दशैंको नवमीका दिन असोज १५ परेपनि प्रतिष्ठानले कार्यक्रम आयोजना गरी आफ्नो पुर्खाले गरेको विजयको स्मरण गरे ।
अग्रेजविरुद्ध गोर्खाली फौजले विजय प्राप्त गरेको दिन असोज १५ गते भएपनि विजयोत्सव भने विभिन्नि मितिमा मनाउने गरिएको छ । समयानुकुलतालाई ध्यानमा राख्दै सिन्धुलीगढीमा विजयोत्सव कात्तिक २४ गते मनाउँदै आएको छ ।
प्रतिष्ठान मातहत रहेको वंशु पार्कमा गरिएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका निवर्तमान नगरप्रमुख किसन गुरुङले स्वागत मन्तव्य राखेका थिए । उपस्थित सम्पूर्णले वंशुको शालिकमा माल्यार्पण गर्दै सम्मान गरेका थिए ।
सिन्धुलीगढी युद्धमा वंशु लगायत वीर योद्धाहरुले पु¥याएको योगदानको स्मरण गर्दै कार्यक्रमका प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका वडा नं. १२ का वडाध्यक्ष इन्द्र गुरुङ, शैक्षिक व्यक्तित्व रुपबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा काठमाडौंबाट आएका प्रतिष्ठानका शुभचिन्तक ज्ञानी लामालाई प्रतिष्ठानको तर्फबाट जस्पुरे अग्रज भद्रसिंह गुरुङबाट सम्मान गरिएको थियो । कार्यक्रम विनु गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रममा जस्पुरेहरुको सक्रिय सहभागिता थियो । पोखरा, काठमाडौं लगायत स्थानबाट वंशुप्रति सम्मान प्रकट गर्न जस्पुर आइपुगेका थिए । कार्यक्रममा दशैंको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो ।