चितवन । वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले आउँदो भदौ ७ (अगष्ट २३) गते हुने भनिएको नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। संघको यसअघि महासचिव भएर काम गरिसकेका उनले पर्यटन व्यवसायको क्षेत्रमा लामो समयदेखि सङ्गालेको अनुभव, काम गर्ने योग्यता र क्षमता प्रदर्शन गर्नको लागि नेतृत्वमा आउन चाहेको बताएका छन्।
तीन वर्षको अवधिमा उनले हिमालसँग सम्बन्धित विविध पक्षहरूमा चुनौती, अवसर र समाधानबारे प्रत्यक्ष रूपमा बुझ्ने र अनुभूति गर्ने अवसर पाएको बताए। सोही आधारमा गुरुङलाई लोकतान्त्रिक पर्यटन व्यवसायी संघले सर्वसम्मतरूपमा अध्यक्ष पदका लागि अगाडि सारेको हो।
गुरुङले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा पूर्वउपाध्यक्ष, इन्टरनेसनल क्लाइम्बिङ एण्ड माउन्टेनरिङ फिडिरेसन (उइआ) मा व्यवस्थापन समितिका पूर्व सदस्य, गुरुङ टुरिज्म इन्टरप्रेनर्स एसोसिएसन नेपाल (जिटिन)मा संस्थापक अध्यक्ष, गणेश हिमाल टुरिज्म डेभलपमेन्ट काउन्सिलमा संस्थापक अध्यक्ष क्लाइमेट एलाइन्स अफ हिमालयन कम्युनिटिजमा सचिवलगायत विभिन्न क्लब तथा संघसंस्थाहरुमा विभिन्न जिम्मेवारी पूरा गरिसकेका छन्।
उनीसँगै संघको नेतृत्व सम्हाल्नको लागि अन्य तीन जना पर्यटन व्यवसायीले समेत उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, पूर्वसचिव टीकाराम गुरुङ र वरिष्ठ पर्यटन व्यवसायी फुर गेल्जे शेर्पाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।