गुरुङ विशेष

घरेलु कामदारका लागि हङकङ खुला गर्नुपर्छ : अरुणा

काठमाडौँ : चीनको विशेष प्रशासनिक क्षेत्र हङकङको जिल्ला परिषद् सदस्य अरुणा गुरुङले नेपालीलाई पनि घरेलु कामदारका लागि हङकङ खुला गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
आज तमू बौद्ध सेवा समिति नेपालले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै हङकङको जिल्ला परिषद् सदस्य गुरुङले हङकङ घरेलु मजदुरका लागि संसारकै सुरक्षित देशमध्येमा पर्ने बताउनुभयो । “हङकङमा घरेलु कामदारले कम्तीमा मासिक पाँच हजार हङकङ डलरको हाराहारीमा तलब पाउँछन्,” उहाँले भन्नुभयो, “तर नेपालीले घरेलु मजदुरको कामदार भिसा पाउँदैन । नेपालीलाई त्यो अवसरका लागि सक्दो पहल गर्नेछु ।”
अरुणा गुरुङले स्वदेशमा पहिलो स्वागत नै तमू बौद्ध सेवा समिति नेपालबाट भएकोमा आफूलाई आफ्नै घर आएको जस्तो र गौरवको अनुभूति भएको बताउनुभयो । अरुणा गुरुङ तमू बौद्ध सेवा समिति नेपालका संस्थापक एवम् पूर्वअध्यक्ष स्व.मे. दीपकबहादुर गुरुङकी माइली छोरी हुनुहुन्छ ।


तमू बौद्ध सेवा समिति नेपालका प्रमुख सल्लाहकार पूर्वमाननीय तोरणबहादुर गुरुङले अरुणाले प्राप्त गरेको सफलताले हङकङमा रहेका सिङ्गो नेपाली समुदायको शिर उच्च भएको बताउनु भयो । उहाँले तमू बौद्ध सेवा समिति नेपालले पनि संस्थाको पूर्वअध्यक्षको छोरी त्यो सम्मानित पदमा पुग्न सफल भएकोमा गौरवको अनुभूति गरेको बन्दै कार्यकाल सफलताको शुभकामनाका साथ बधाई व्यक्त गर्नुभयो ।
अढाइ दशकअघि हङकङबाट ‘नेपाल पोष्ट ओभरसिज’ नामक म्यागेजिन प्रकाशन गर्नुभएका अरुणा गुरुङलाई सञ्चारकर्मीको रूपमासमेत हेर्न सकिने भन्दै तमू (गुरुङ) सञ्चारकर्मी संघका अध्यक्ष लाला गुरुङले पनि उहाँलाई बधाई तथा शुभकमना व्यक्त गर्नुभएको थियो । तमू बौद्ध सेवा समिति नेपालका अध्यक्ष क्या. नाराणबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चारकर्मी एवम् तमू बौद्ध सेवा समिति नेपालका सचिव मनिराज गुरुङले सञ्चालन गर्नुभएको थियो । यसैबिच तमू बौद्ध सेवा समिति नेपालले उहाँलाई संस्थाको हङकङका लागि सद्भावना दूत मनोनयन गरेको छ ।