- तुलमान गुरूङ
चितवन । २०७८ को जनगणनाअनुसार चितवन जिल्लामा गुरूङहरुको जनसङ्ख्या करिब ५० हजारको हाराहारीमा रहेको देखिन्छ। पछिल्लो समय बसाइसराइको गति तीव्र बन्दै जाँदा छिमेकी पहाडी जिल्लाबाट चितवन बसाइ सर्नेको क्रम अझै रोकिएको छैन। तसर्थ आगामी जनगणनामा यो सङ्ख्या अझै बढ्ने देखिन्छ।
जिल्लाको सबै पालिकामा गुरूङहरुको बसोबास छ। पहिले तुलनात्मकरूपमा सङ्ख्या कम भए पनि अहिले सङख्या बढ्दै गएपछि सामुदायिक हकअधिकारको लागि गुरूङहरु सङ्गठित हुँदै आएका छन्। यही क्रममा तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद र तमू प्ये ल्हु संघले चितवन जिल्लामा गुरूङ समुदायको प्रतिनिधित्व गर्दै आएको छ।
दुवै संस्थाले आ–आफ्नो अनुकूल मिलाएर गुरूङ समुदायको हकहितको क्षेत्रमा काम गर्दै आएको छ। तसर्थ हरेक वर्ष आउने ल्होसारसमेत दुवै संस्थाले अनुकूल मिलाएर मनाउँदै आएको छ। विशेष गरी आज पुस १५ गते तमू ल्होसारको मुख्य दिन हो। तर, सबैलाई सहज हुने तरिकाले अवसर पारेर ठाउँठाउँमा केही दिनअघिदेखि नै ल्होसार मनाउने चलन छ।
तमू प्ये ल्हु संघ चितवनले शनिबार नै भव्य कार्यक्रम आयोजना गरेर ल्होसार मनाइसकेको छ। आइतबार र सोमबार उनीहरुको इकाइ समितिमा ल्होसार मनाउने कार्यक्रम रहेको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए। विषेश गरी गुरूङ जातिको धार्मिक र सांस्कृतिक पहिचानको मुद्धालाई आत्मसात गर्दै आएको प्ये ल्हु संघले मौलिक चाडपर्वसँगै भेषभूषा तथा भाषा संरक्षणमा समेत योगदान दिँदै आएको छ।
उता गुरूङ समुदायको जातीय पहिचानको अधिकार बोकेर हिँडेको गुरूङहरुको साझा संस्था तमू ह्युल छोंज धीं चितवनले पनि विगत लामो समयदेखि तमू ल्होसार पर्वलाई विशेष बनाउँदै आएको छ। यसवर्ष पनि ल्होसारलाई बृहत् बनाउनको लागि गएरातिदेखि नै सांस्कृतिक कार्यक्रम जारी छ।
नेपाल तमू विद्यार्थी छोंज धींको संयोजनमा राति १२ बजेसम्म बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यार्थी र विभिन्न आमा समूहले कार्यक्रममा प्रस्तुति दिएका थिए। ह्युल छोंज धींको पनि विभिन्न इकाइहरुमा अवसर पारेर ल्होसार मनाए पनि जिल्ला समितिले भने हरेक वर्ष पुसको १४ र १५ गते विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ।
वर्ग परिवर्तनको अवसर पारेर पुरानो वर्गलाई बिदाइ र नयाँ वर्गलाई स्वागत गर्ने गरी हरेक वर्ष पुसको १४ गते राति कार्यक्रम गरेर नयाँ वर्ष मनाउने गरिएको तमू ह्युल छोंज धीं चितवनकी अध्यक्ष विमलादेवी गुरूङ बताउँछिन्। ‘१४ गते मध्यराति १२ बजे वर्ग परिवर्तन हुने हुँदा सोही रातको कार्यक्रमलाई विशेष बनाउने प्रयास गरिएको हो,’ उनी भन्छिन्, ‘मध्यराति नयाँ वर्गलाई स्वागत गरेपछि १५ गते दिनभर शुभकामना आदानप्रदानसहितको कार्यक्रम गर्दै आएका छौँ। यस वर्ष पनि हामीले त्यसैलाई निरन्तरता दिएका छौँ।’
तमू ह्युल छोंज धीं चितवनले १४ गते विभिन्न खालका खेलकूद तथा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा बिजेत बन्ने व्यक्ति तथा समूहलाई पुरस्कार वितरण गर्ने, खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण गर्नेलगायतका कार्यक्रमसमेत हुनेछ। गुरूङहरुले १२ वटा जीवजन्तुको नाममा छुट्याइएको वर्गमध्ये यसवर्ष गरूड वर्ग अर्थात् मुप्री ल्होको बिदाइ गर्दै सप्री ल्हो अर्थात् सर्प (नाग) वर्गको स्वागत गरेर ल्होसार मनाएका हुन्।
यस्तै दुरा समुदायले पनि पुस १५ कै दिनलाई ल्होसार मनाउने चलन छ। सांस्कृतिक हिसाबले गुरूङ र दुरा समुदाय समान छन्। त्यसकारण दुरा जातिले पनि आजै विभिन्न कार्यक्रम गरेर ल्होसार मनाइरहेका छन्। दुरा सेवा समाज चितवनले यसवर्षको ल्होसार पर्व भरतपुरस्थित रोज गार्डेन रिसोर्टमा सांस्कृतिक कार्यक्रम आयोजना गरेर मनाउँदै छ। तमू ल्होसार पर्वसँगै नेपाली समाजमा पुसे पन्ध्र पर्वसमेत सँगै परेको हुँदा सरकारले पनि यस दिन सार्वजनिक बिदा दिने गरेको छ।