गुरुङ विशेष

क्वोंने खलकको सहभोजमा चेली–माइतीको भेट

अल्डरसट । वेलायतमा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमू) समाज युकेले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ। समाजले नवौँ भाइखलक भेटघाट तथा चेलिबेटी भोज कार्यक्रम समारोहमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको हो।

हरेक वर्ष माघे सङ्क्रातिको अवसर पारेर माघ महिनाको पहिलो शनिबार गर्दै आएको यो कार्यक्रम यसवर्ष १८ जनवरी २०२५ का दिन एम्पायर हल अल्डरसटमा आयोजना गरिएको हो।

कार्यक्रममा नेपालबाट वेलायत आएका गण्डकी प्रदेश सभाकी सदस्य सरस्वती तमूस्योसँगै तमू धीं नेपालका अध्यक्ष हुमबहादुर तमू, तमू सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष लाला तमू, तमू समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर तमू, एकबहादुर तमू, कुमार तमू, चन्द्रबहादुर तमू, क्रिश तमू, भुम्दी समाजका राजबहादुर तमू, कृष्ण तमू, हेमकुमार तमू, भगवान तमू, विमल तमू, कमल तमू, योगेश तमू, हितकाजी तमूलगायतलाई सम्मान गरिएको समाजले जनाएको छ।

त्यसबाहेक कोन्मे भाइखलकबाट उच्च पदमा पुगेका अन्य व्यक्तिलाई समेत सम्मान गरिएको समाजका महासचिव इन्द्र तमूले जानकारी दिए। उमेरले ज्येष्ठ नागरिकसमेत रहेका सम्मानित व्यक्ति एकबहादुर तमूको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम संयोजक कुमार तमूका अनुसार कार्यक्रममा नेपालबाट आएका कलाकारहरु हरिमाया तमूस्यो, विमला तमूस्यो, शितल तमूलगायतले भरपुर मनोरञ्जन दिलाएका थिए।

माघे सङ्क्रान्तिमा कोन्मे खलकको युकेमा रहेका चेलिबेटी तथा ज्वाइँसँगै भाञ्जा–भाञ्जीहरुलाई एकै थलोमा निम्ता दिएर मासको टीका लगाइ दक्षिणा दिने र तरूल खाएर सहभोज गर्ने परम्परा छ।

कार्यक्रममा समाजका प्रमुख संरक्षक क्याप्टेन जीवनकुमार तमू, तमू धीं नेपालका अध्यक्ष हुमबहादुर तमू, गण्डकी प्रदेश सभा सदस्य सरस्वती तमूस्यो, एकबहादुर तमूलगायतले शुभकामना मन्तव्य राखेका थिए।

चेलिबेटी प्रमुख लिना तमूस्योले सधैँ माइतीसँग हाँसीखुसी माघे सङ्क्रान्ति मनाउन पाएको भन्दै खुसी व्यक्त गरिन्। चेलीहरुले माइतीलाई पुरानो चलनअनुसार रक्सी, सेलरोटी, कसर, तरुल, मिठाइ आदि कोशेली ल्याइदिएका थिए।

संस्थाका कार्यवाहक अध्यक्ष राम तमूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।