काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल केन्द्रीय समितिले ६ जना पत्रकार तथा सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । ‘तमू (गुरूङ) पत्रकारिता पुरस्कार–२०८१’ बाट चितवनका देवराज गुरूङ, काठमाडौंका वर्षा शाह र अपेक्षा गुरूङ, रूपन्देहीककी निरू गुरूङ, कास्कीकी शीला गुरूङ र म्याग्दीका गणेश गुरूङ (सुरेन) पुरस्कृत भएका हुन्।
बुधबार नेपाल सरकारका प्रवक्ता एवम् सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङमार्फत गुरूङ जातिको पहिचानसहि फेटा लगाएर नगद र सम्मानपत्रसहित पुरस्कृत गरिएको आयोजक संस्था तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपाल केन्द्रीय समितिका अध्यक्ष लाला गुरूङले जानकारी दिनुभयो।
उनका अनुसार चितवनबाट प्रकाशित इच्छाकामना न्युज डटकमका सम्पादक देवराज गुरूङ र देश सञ्चारकी फोटो पत्रकार वर्षा शाहलाई संयुक्तरूपमा ‘पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरूङ पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। दुवैजनाले नगद २० हजार राशिको पुरस्कार हात पारेका हुन्।
दि काठमान्डु पोष्टकी सम्वाददाता अपेक्षा गुरूङलाई ‘सुश्री भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार’, राज्य टेलिभिजनकी समाचार वाचक एवम् कार्यक्रम प्रस्तोता निरू गुरूङलाई ‘तमू ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार’, रेडियो नेपाल गण्डकी प्रादेशिक प्रसारण केन्द्रकी तमू भाषा समाचार वाचक, समाचार सम्पादक एवम् कार्यक्रम उत्पादक शीला गुरूङलाई ‘आदिकवि हर्कबहादुुर गुरूङ स्मृति पत्रकारिता पुरस्कार’ र म्याग्दीस्थित धौलागिरी खबरका फोटो पत्रकार गणेश गरूङ (सुरेन)लाई ‘लक्ष्मी गुरूङ पत्रकारिता पुरस्कार’ प्रदान गरिएको अध्यक्ष गुरूङले जानकारी दिए। उनीहरु सबैलाई जनही नगद दश हजार रूपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो।
तमू सञ्चारकर्मी संघ नेपालले २०७० सालदेखि पुरस्कार प्रदान गर्दै आएको छ।
सोही अवसरमा गुरुङ न्युज डटकमको वर्ष पुस्तक समेत लोकार्पण गरिएको छ। संघका अध्यक्ष लाला गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङ, तमू ह्युल छोंज धींका महासचिव डम्बर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय अध्यक्ष गजुरधन राईलगायतले मन्तव्य राखेका थिए।