गुरुङ विशेष

तमूस्यो ह्युल छोंज धीं चितवनको अध्यक्षमा सीतादेवी गुरूङ निर्वाचित

भरतपुर । तमूस्यो ह्युल छोंज धीं गुरूङ महिला राष्ट्रिय परिषद् चितवनको अध्यक्षमा सीतादेवी गुरूङ निर्वाचित भएकी छन्। भरतपुरस्थित महाबौद्ध गुम्बा तीनखोलेमा भएको सातौँ जिल्ला अधिवेशनमा भारी मतसहित सीतादेवी गुरूङ निर्वाचित भएकी हुन्। कुल खसेको ४९ मतमध्ये उनको पक्षमा ३७ र प्रतिद्वन्द्वी पूर्णकुमारी गुरूङको पक्षमा जम्मा १२ मत खसेको थियो।

संस्थाको विधानअनुसार गाउँपालिकाबाट अध्यक्षसहित सात जना, नगरपालिकाबाट अध्यक्षसहित ९ जना र महानगरपालिकाबाट अध्यक्षसहित १३ जनाले मतदान गरेका थिए। त्यसबाहेक, जिल्ला कार्यसमितिका पदाधिकारीसहित सबै सदस्यले मतदान गर्न पाउने व्यवस्थाअनुसार निर्वाचनमा जम्मा ५८ जनाले मतदान गर्न पाउने व्यवस्था थियो। तर, मतदान कार्यमा ४९ जनामात्रै सहभागी भएको निर्वाचनमण्डलकी संयोजक शारदादेवी गुरूङले जानकारी दिइन्। सहमतिमा आउन नसकेपछि अन्तिममा अध्यक्ष पदका लागि निर्वाचन भएको हो।

अध्यक्षबाहेक अरु सबै पदमा सर्वसम्मत भएको थियो। तीनवर्षे कार्यकालका लागि उपाध्यक्षमा कमला गुरूङ, सचिवमा गोमा गुरूङ, सङ्गठन सचिवमा कविता गुरूङ, प्रचार सचिवमा कल्पना गुरूङ, कोषाध्यक्षमा ज्योति गुरूङ र सहकोषाध्यक्षमा चन्दा घले चयन भएका छन्।

यस्तै, कार्यसमिति सदस्यहरुमा रुपा गुरूङ, मसिना गुरूङ, लक्ष्मी घले, आइतुमाया गुरूङ, विष्णु गुरूङ, सुकमाया गुरूङ, दुर्गा गुरूङ, अनिता गुरूङ, अनिता गुरूङ र सीता गुरूङ चयन भएका छन्। विधानअनुसार अधिवेशनमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो। तीन जना सदस्य अध्यक्षले पछि थप मनोनीत गर्न मिल्ने व्यवस्था छ।