गुरुङ विशेष

ल्वाङगाउँमा निर्मित १९ फिट अग्लो बुद्धको मूर्ति र पार्कको उद्घाटन

करिब ३० लाख खर्चिएर बनाएको बुद्धको मूर्ति र पार्कले ल्वाङगाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-८ मा रहेको पर्यटकीय ल्वाङ‌गाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्धपार्क उद्घाटन गरिएको छ। सिमपानी पोखरा निवासी बलबहादुर गुरुङ र देवशुभा गुरुङद्वारा निर्मित बुद्धको मूर्ति र पार्कको निर्माणकर्ताले उद्घाटन गरेका हुन्।

त्यस क्रममा लामा धर्मगुरु खेम्पो कुङ्गा दुन्दुक र लामा टाशी वान्गेलको नेतृत्वमा विधिवत पूजा गरिएको थियो। कार्यक्रममा ल्वाङवासी तथा पोखरा, काठमाडौं र विदेशबाट आएका शुभेच्छुक र चन्दादाताहरुको उपस्थित थियो। बुद्धपार्क करिब ३० लाखको लागतमा निर्माण गरिएको हो।

बुद्धपार्कले ल्वाङ‌गाउँको पर्यटन प्रवर्द्धन तथा समृद्धिमा विशेष महत्त्व राख्ने अपेक्षा गरिएको छ। ल्वाङ आउने पाहुनाहरुले चियाबारीसँगै बुद्धको दर्शन गर्दै बुद्धपार्कमा बसेर आनन्द लिन सकिने स्थानीय बताउँछन्। ल्वाङ सामुदायिक होमस्टे समितिले आयोजना गरेको कार्यक्रम होमस्टेका अध्यक्ष सुमित्रा गुरुङको अध्यक्षतामा भएको हो।

कार्यक्रम प्रमुख अतिथि बुद्धमूर्ति निर्माण दाताहरु बलबहादुर गुरुङ र देवशुभा गुरुङसँगै विशेष अतिथिहरुमा वडा सदस्य अर्जुन परियार, मस्याकु कोट आमा समूहकी अध्यक्ष डम्मरकुमारी गुरुङ, ग्रीनहिल क्लबका अध्यक्ष सुजन गुरुङ, ल्होगो तमू सेवा समितिका सचिव कमल गुरुङ, बुद्ध मूर्ति निर्माण समन्वयकर्ता देवराज गुरुङ, बुद्धमूर्ति पूजा धर्मगुरु कुङ्ग दुन्दुकलगायत उपस्थित थिए।

कार्यक्रममा बुद्धपार्कको लागि सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई सम्मान गरिएको थियो भने बुद्धमूर्ति दाताहरुलाई ल्वाङ सामुदायिक होमस्टे समितिले मायाको चिनोसहित सम्मान गरेको थियो। कार्यक्रममा आर्थिक चन्दादाताहरु, जग्गादाता र बेलायतबाट क्याप्टेन लक्ष गुरुङको परिवार र गाउँलेहरुको समेत उपस्थिति थियो।