गुरुङ विशेष

तेजन गुरूङसहित ९ पर्वतारोहीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

चितवन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आठ हजार मिटरभन्दा बढी उचाई भएका १४ हिमाल आरोहण गर्न सफल पर्वतारोही तेजन गुरूङसहित ९ जना विश्वकीर्तिमानी पर्वतारोहीहरूलाई स्वागत गरिएको छ। तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रीय समिति, गुरूङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन), मगर पर्यटन संघ, शेर्पा पर्यटन व्यवसायी संघ, तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल, पर्वतारोहण संघलगायतका संघसंस्थाले विश्व किर्तमानी कमाउन सफल पर्वतारोहीहरुलाई स्वागत गरिएको हो।

गुरूङ समुदायको प्रतिनिधित्व गर्दै स्याङ्जा पेल्काचौर घर भएका २९ वर्षीय तेजन गुरूङले विश्वकै सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, अन्नपूर्ण, मकालु, कञ्चन्जङ्गा, नङ्गापर्वत, जिटु, जिवान, ब्रोडपिक, केटु, मनासलु, धौलागिरी, छोयू र शीशापाङ्मा हिमालको सफल आरोहण गरेका थिए।

योसँगै आठ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्ने पहिलो गुरूङको रूपमा तेजन गुरूङले आफ्नो नाम दर्ज गराउन सफल भएका छन्। भूतपूर्व ब्रिटिश गोर्खा सैनिक (सिक्स जिआरका) तेजबहादुर तमू र शुकु तमूस्योका छोरा तेजनको पुख्र्यौली घर स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १२ पेल्काचौर फेरा गाउँ भए पनि हाल बेलायत बस्दै आएका छन्।

बेलायती सेनामा आठ वर्ष जागिर गरेर नायक कमाण्डो भएका उनी सैनिक जीवनबाट अवकाश लिई पर्वतारोहणमा होमिएका हुन्। तेजनले ९ अक्टोबर २०२४ मा नेपाली समयअनुसार बिहान ५ बजे चीनको आठ हजार २७ मिटर अग्लो शिशापाङ्मा हिमाल आरोहण गरेका थिए।

त्रिभुवन विमानस्थलमा तेजनसँगै विश्वकै कान्छो आरोही १८ वर्षीय निमा रिञ्जी शेर्पा, विश्वका आठ हजारभन्दा बढी उचाइ भएका १४ शिखर चुम्ने पहिलो नेपाली महिला दावा याङ्जुम शेर्पा, आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४ हिमालहरू ५० पटक आरोहण गर्नुका साथै बिना अक्सिजन छोटो समयमै आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरेका निर्मल पुर्जा, सोलुखुम्बुको थामेबाट १४ वटा शिखर चुम्ने पहिलो आरोही पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४ हिमाल आरोहण गर्न सफल मिङ तेम्बा शेर्पासहित ९ जना नेपाली पर्वतारोहीहरुलाई एकसाथ स्वागत गरिएको हो।