गुरुङ विशेष

रूपन्देहीमा ‘क्यर्लो’ विमोचन

गुरूङ जातिको संस्कार, संस्कृतिबारे बुझ्न सहयोगी बन्ने विश्वास

रूपन्देही । तमू ह्युल छोज धीं गुरूङ राष्ट्रिय परिषद् रूपन्देहीले गुरूङहरूको सृष्टिसम्बन्धी धार्मिक ग्रन्थ ‘क्येर्लो’ क्येप पे पुस्तक विमोचन गरेको छ।

तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषदका पूर्व केन्द्रीय संरक्षक सभापति एवं क्येर्लो क्येप पे दोस्रो संस्करण सम्पादन सहयोगी माया गुरूङले गुरूङहरूको सृष्टि ग्रन्थ प्रकाशनमा सहयोगी बन्न पाएकोमा खुशी व्यक्त गर्दै क्येर्लो पुस्तकभित्र गुरूङहरूको उत्पतिकालदेखि बसाइसराइका क्रममा ठाउँ स्थानान्तरण हुँदै सफुती क्ह्याल्सा न्हरू ह्युल्सा हुँदै क्होलासोंथरसम्म आइपुग्दा र गुरूङ संस्कार, संस्कृतिबारे बुझ्न यो पुस्तक सहयोगी बन्ने बताइन्।

तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रीय भाषिक सल्लाहकार एवं प्रथम क्येर्लो प्रकाशन तथा दोस्रो संस्करण सम्पादन सहयोगी बालनर्सिङ गुरूङ, सम्पादन सहयोगी खेमालिपि अभियान्त एवम् ह्युल छोंज धींका केन्द्रीय सल्लाहकार भीम गुरूङ दोस्रो संस्करणका सम्पादन सहयोगी एवम् संस्कृति एवं भाषा अभियन्त ठाकुरजङ मोब्छे गुृरूङ, डम्बर गुरुङ, लुम्बिनी प्रदेश अध्यक्ष खुमबहादुर गुरूङलगायतले शुभकामना मन्तव्य राखेका थिए।

३५४ पृष्ठ रहेको क्येर्लो क्येप पे पुस्तक तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषदले सम्पादन गर्दै आएको छ।

पहिलो संस्करण २०४६ सालमा निकालेको भए पनि पुनःत्यसैलाई परिमार्जित गरी दोस्रो संस्करणका रूपमा निकालिएको हो। विमोचन कार्यक्रममा सम्पादन सहयोगीहरू बालनर्सिङ गुरूङ, डम्बर गुरूङ, मोहन गुरूङ, भीम गुरूङ, ठाकुरजङ म्होब्छे गुरूङ, नवीन गुरूङ, माया गुरूङलगायतलाई सम्मान गरिएको थियो।

संस्थाका अध्यक्ष विमला गुरूङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष रामबहादुर गुरूङले स्वागत मन्तव्य दिएका थिए।