गुरुङ विशेष

भुजुङमा क्होइबो निर्माण गर्दै प्ये ल्हु संघ

लम्जुङ । जिल्लाको क्व्होलासोथर गाउँपालिका वडा नं. ४, पर्यटकीय गाउँ भुजुङमा क्व्होइबो निर्माण हुने भएको छ। क्होइबो निर्माणको लागि जग्गा प्राप्ति भएपछि निर्माण प्रक्रिया अघि बढेको युम्पो तमू प्ये ल्हु संघ भुजुङले जनाएको छ।
क्होइबो निर्माणको लागि देशविदेशबाट सहयोग जुटाउने काम भइरहेको संघका सचिव तुलबहादुर गुरूङले जानकारी दिए। उनका अनुसार भुजुङ गाउँको माथि नौजु खोँमा क्होइबो निर्माणका लागि जग्गा सम्याउने काम भइरहेको छ।

भुजुङमा गुरुङ जातिको कर्मकाण्डीय वेद तथा शास्त्र (प्ये) सिक्ने र सिकाउने पाठशालाको रुपमा क्होइबो निर्माण गर्न लागेको संघले जनाएको छ। संघका अध्यक्ष ब्रिजबहादुर गुरुङले क्होइबो निर्माणका लागि सरकारी तथा गैरसरकारी निकाय, विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थासँग सहयोग जुटाइरहेको बताए।

क्होइँबो निर्माणसम्बन्धमा केन्द्रीय समितिको टोलीले भुजुङका वासिन्दासँग छलफल गरेको थियो।

गत भदौ ६ गते युम्पो तमू प्ये ल्हु संघ भुजुङका अध्यक्ष ब्रिजबहादुर गुरुङको अध्यक्षतामा भएको छलफलमा तमू प्ये ल्हु संघका केन्द्रीय निवर्तमान अध्यक्ष एवं सल्लाहकार हितकाजी गुरुङ, केन्द्रीय वरिष्ठ उपाध्यक्ष एकजङ्ग गुरुङ, केन्द्रीय सचिव बम गुरुङ, सदस्य मिलन गुरुङ, स्थानीयसमेत रहेका क्व्होलासोथर गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङ, कार्यपालिका सदस्य हेमन्ता गुरुङ, रीतिथिति नियन्त्रण समितिका अध्यक्ष एवं युम्पो तमू प्ये ल्हु संघ भुजुङका निवर्तमान अध्यक्ष कालबहादुर गुरुङ, युम्पो समाज पोखराका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, कार्यबाहक अध्यक्ष विजय गुरुङ, सुकबहादुर गुरुङ, हरिकुमारी गुरुङ, अमृता गुरुङ, युम्पो विकास आमा समूह अध्यक्ष आशकुमारी गुरुङलगायत गाउँका बुद्धिजीविलगायतको उपस्थिति थियो।