गुरुङ विशेष

तमू विद्यार्थी चितवनको अध्यक्षमा रुक्सन तमू निर्वाचित

चितवन । नेपाल तमू (गुरूङ) विद्यार्थी छोंज धीं चितवनको अध्यक्षमा रूक्सन गुरूङ चयन भएका छन्। महाबौद्ध गुम्बा तीनखोलेमा शनिबार राति सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा डोल्मा गुरूङ, उपाध्यक्षमा विसु गुरूङ र अनिल गुरुङ, सचिवमा आयुष गुरूङ, प्रचार सचिवमा विद्या गुरूङ, कोषाध्यक्षमा अस्मी गुरूङ, सह–सचिवमा टीका गुरूङ, सहकोषाध्यक्षमा सिर्जना गुरूङसहित २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन्।

समितिभित्र सांस्कृतिक विभागमा एलिशा गुरूङ, सङ्गठन विभागमा अभिषेक गुरूङ, महिला विभागमा आकृति गुरूङ र खेलकुद विभागमा कुमार गुरूङलाई चयन गरिएको विद्यार्थी छोंज धीं चितवनका निवर्तमान अध्यक्ष सुमित गुरूङले जानकारी दिए।

तमू विद्यार्थीले तमू ह्युल छोंज धींका केन्द्रीय सचिव सन्तलाल गुरूङको उपस्थितिमा अधिवेशन गरेको हो। अधिवेशनको उद्घाटन सत्रमा विद्यार्थीलाई सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरूलाई सम्मान गरेको थियो। साथै तमू विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममार्फत् मनोरञ्जनसमेत प्रदान गरेका थिए।

कार्यक्रममा तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरूङ, सचिव किशोर गुरूङ, बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष विकाश गुरूङलगायतको उपस्थिति थियो।

तमू विद्यार्थी छोंज धींको केन्द्रीय महाधिवेशन तनहुँको दमौलीमा हुँदैछ। कात्तिक अन्तिम साता हुने महाधिवेशनपूर्व नै जिल्ला अधिवेशन सकाउन निर्देशन जारी भएपछि सोहीअनुसार जिल्ला अधिवेशन सम्पन्न गरेको तमू विद्यार्थी छोंज धीं, चितवनले जनाएको छ।