प्रवास

रसुवा बाढिपिडितका लागि प्रधानमन्त्री राहत कोषमा तमू धीं युकेले दियो १ करोड ११ लाख

काठमाडौँ । तमु धीं यूकेले नेपालका बाढीपीडितका लागि संकलन गरेको १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ मंगलबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको छ ।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयमा सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । महासचिव डा। विशाल गुरुङका अनुसार उक्त रकम मंगलबार नै राहत कोषमा जम्मा गरिएको छ ।

चेक हस्तान्तरणका लागि अध्यक्ष जुमकाजी गुरुङसहित वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा। विशाल गुरुङ, सचिव विमल गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङलगायत सहभागी थिए । 

रकम हस्तान्तरण कार्यक्रममा महासचिव डा। विशाल गुरुङले सन् २००० मा बेलायतमा स्थापित तमु धीं यूकेले महाभूकम्प, कोभिड महामारीलगायत विपद् साथै परोपकारी क्षेत्रमा गर्दै आएको सहयोगबारे जानकारी गराएका थिए । 

अर्थमन्त्री वाग्लेले विपद्का बेला तमु धीं यूकेले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले सरकारलाई भरोसा गरेर हालसम्म १६ अर्ब रुपैयाँ राहत संकलन भएको र त्यसमध्ये १ अर्ब रुपैयाँ निकासा भइसकेको बताए । वाग्लेले दसैंअघि नै सबै पीडितका लागि अस्थायी टहरा निर्माण गर्ने तयारी रहेको बताए । पीडित परिवारले आफूले चाहेको स्थानमा अस्थायी आवास बनाउन सक्ने गरी प्रतिपरिवार १७ हजार रुपैयाँ सहयोग गर्ने सरकारको योजना रहेको उनले सुनाए । स्थायी आवासका लागि साढे दुई वर्षभित्र सबै पीडित परिवारका घर निर्माण गर्ने उनको भनाइ थियो ।