पोखरा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि तमु धिं नेपालले सञ्चालन गरेको राहत संकलन अभियानमा ७० लाख ४७ हजार ४९७ रुपैयाँ ८८ पैसा संकलन भएको छ । तमु धिं नेपालले भदौ १४ गतेदेखि सञ्चालन गरेको अभियानमा संस्थाको कार्यसमिति, विभिन्न समिति, तमु समाज, संघसंस्था, भाइखलक तथा चेलीबेटी परिवारलगायतबाट उक्त रकम संकलन भएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।
संकलित राहत रकम आज सोमबार सम्पूर्ण सहयोगीको विवरणसहित प्रधानमन्त्री उद्धार राहतकोषमा जम्मा हुने गरी गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरिएको छ । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वमा टोली काठमाडौं गई उक्त रकम आज हस्तान्तरण गरिएको छ ।
राहत संकलन अभियानमा सहयोग गर्ने राहतदाताको विवरणसहित कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समेत राहत रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको तमु धिं नेपालले जनाएको छ ।





