ब्यानर

लमजुङ र गोरखामा तमू सांस्कृतिक प्रतष्ठानद्वारा छात्रवृत्ति वितरण

पाेखरा । तमू सांस्कृतिक प्रतिष्ठान नेपालले लमजुङ र गोरखामा छात्रवृत्ति वितरण गरेको छ। शनिबार समितिका सदस्यहरु दुई समूहमा विभाजन गरी लमजुङ र गोरखाका तमू विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो। संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमूको नेतृत्वमा सचिव कन्चन तमूस्यो, कोषाध्यक्ष श्यामबहादुर तमू, विद्यार्थी समितिका सदस्य तारा तमू र कार्यालय सचिव गंगामाया तमूस्यो लमजुङको बेसीशहरस्थित तमू संग्रहालयको सभाहलमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो।

तमू प्ये ल्हु संङ्घ क्ल्हेप्री समितिका केन्द्रीय अध्यक्ष सन्तोष टु तमूले समुदायमा सराहनीय कार्य गरेको भन्दै तमू सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यप्रति खुसी व्यक्त गरे। प्रतिष्ठानले आगामी दिनमा पनि लमजुङ जिल्लाका सबै संङ्घसंस्थालाई महत्त्व दिनुपर्ने बताए। कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् लमजुङका अध्यक्ष जीवराज घले, क्होलासोंथर-२ का पूर्ववडाध्यक्ष बुद्धिप्रसाद तमू, बालकल्याण मावि दारिमबोटका छात्र विवेक तमू र छात्रा मेलिन घलेले मन्तव्य राखेका थिए।

यस शैक्षिकसत्रमा कक्षा ८-१२ सम्म छात्रवृत्ति प्राप्त जम्मा १८७ जनामध्ये २८ जना र कक्षा ९ मा यस वर्ष छनौटमा परेका जम्मा ८४ मध्ये १२ जना विद्यार्थीहरु लमजुङ जिल्लाका छन्। लमजुङका १० जना विद्यार्थीहरुलाई असोज ३ गते पोखरामा आयोजित कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको थियो। संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमूको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष श्यामबहादुर तमूले र कार्यक्रम सञ्चालन सचिव कन्चन तमूले गरेका थिए।

त्यस्तै गरी तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोरखाको व्यवस्थापनमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रमको लागि निवर्तमान अध्यक्ष चिजकाजी तमूको नेतृत्वमा प्रथम उपाध्यक्ष श्रीजङ तमू, सदस्यद्वय लक्ष्मी तमू र लोकबहादुर तमू तथा विद्यार्थी समितिको कोषाध्यक्ष पन्चकुमारी तमूको समूह खटिएको थियो।

कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् गोर्खाका अध्यक्ष राम तमू, विद्यार्थी पन्चकुमारी तमू, आहाल भञ्ज्याङ् मावि सिरानचोकमा कक्षा १० मा अध्ययनरत छात्रा जेनिसा तमूले आफ्ना भनाइ राखेका थिए। जम्मा विद्यार्थी मध्ये २० जना र यस वर्षको नयाँ छनौट भएका १३ गरी जम्मा ३३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको यस कार्यक्रममा परिषदका कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरु, नेपाल विद्यार्थी समितिका अध्यक्ष मनोज तमू, तमूस्यो जागृती महिला समिति अध्यक्ष हिमला तमूलगायत शिक्षक, अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।