ब्यानर

तमू साँस्कृतिक प्रतिष्ठानले दियो ८७ विद्यार्थीलाई छात्रवृत्ति, शनिबार थप वितरण गरिने

पोखरा । तमू साँस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिकसत्र २०८१ को लागि पोखराको फिर्केस्थित पोखरा इन्जिनियरिङ कलेजमा छात्रवृत्ति वितरण गरेको छ। ‘तमू विद्यार्थी छात्रवृत्ति वितरण’ कार्यक्रमअन्तर्गत कास्की, तनहुँ, स्याङ्जा, पर्वत र लमजुङका ८७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो।

असोज ५ गते शनिबार गोर्खा र लमजुङका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने तयारी भइरहेको संस्थाका अध्यक्ष चित्रबहादुर तमूले जानकारी दिए। उनका अनुसार प्रतिष्ठानले हालसम्म ४४८ जनालाई छात्रवृत्ति प्रदान गरिसकेको छ।

यसवर्ष पनि १८७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिरहेको उनले बताए। कक्षा ९ देखि १२ सम्म अध्ययन गर्दै आएका विद्यार्थीलाई लगातार ४ वर्षसम्म छात्रवृत्ति दिँदै आएको उनले बताए। चालू शैक्षिकसत्रमा कक्षा ९ का ८४ जना नयाँ विद्यार्थी छात्रवृत्तिका लागि छानिएका छन्। सोहीअनुसार छात्रवृत्ति प्रदान गरिरहेको अध्यक्ष तमूले जानकारी दिए।

बिहीबार पोखरामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रहेका सोसल पब्लिक स्कुलका संस्थापक प्रबन्ध निर्देशक खिमबहादुर तमूले क्षमता र दक्षताको आधारमा विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेको बताए। ‘गरिब भएर मात्रै छात्रवृत्ति पाएको होइन। आफ्नो क्षमता र दक्षताले पनि हो,’ उनले भने, ‘यसरी सफलता हासिल गरेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गरी योग्य बनेर राष्ट्रको लागि योगदान दिनसक्ने सपना देख्नुपर्छ।’

चण्डीडाँडा माध्यमिक विद्यालयका शिक्षक दिप्तीदत्त अधिकारी, प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त विद्यार्थी, सूर्योदय माध्यमिक विद्यालय घाम्राङ, लमजुङमा कक्षा ९ मा अध्ययनरत स्वप्निमा तमूस्यो, माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय नदीपुर, पोखरामा कक्षा ११ मा अध्ययनरत पूर्णिमा तमुूस्योलगायतले मन्तव्य राखेका थिए।