गुरुङ विशेष

चितवनमा तमू भाषा प्रशिक्षण सुरु

भाषा संरक्षणमा टेवा पुग्ने लक्ष्य

चितवन । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले शनिबारदेखि तमू भाषा कक्षा सञ्चालन गरेको छ। असोज १३ गतेसम्मका लागि महाबौद्ध गुम्बा तीनखोलेमा सुरू गरिएको भाषा कक्षाको तमू ह्युल छोंज धीं बागमती प्रदेशका प्रमुख गणेशबहादुर गुरूङले उद्घाटन गरेका हुन्।

तमू समुदायमा भाषाको ज्ञान कम हुँदै गएपछि यसको संरक्षणको लागि पनि कक्षा नै सञ्चालन गर्नुपरेको ह्युल छोंज धीं चितवनकी अध्यक्ष विमलादेवी गुरूङले जानकारी दिइन्। ह्युल छोंज धींले भाषा नजान्नेहरूका लागि गतवर्षबाट नियमित कक्षा सञ्चालन गर्न थालेको हो।

गतवर्षजस्तै यसवर्ष पनि दुई हप्ताको कक्षा सञ्चालन गरिएको अध्यक्ष गुरूङले बताइन्। चितवनमा बस्ने गुरूङहरू अधिकांश पहाडी जिल्लाबाट बसाइँ सरेर आएको हुँदा भाषा बोल्न नसक्ने अवस्थामा आइपुगेको छ। त्यसकारण भावी पुस्तासम्म पनि भाषा जीवित रहोस् भन्ने उद्देश्यसहित कक्षा सञ्चालन गरिएको ह्युल छोंज धींले जनाएको छ। ‘हाम्रो पुस्ताले संरक्षण गर्न सक्यो भने बल्ल हामीभन्दा पछिल्लो पुस्तामा कायम रहन्छ,’ उनले भनिन्, ‘भाषालाई पुस्तान्तरण गर्नकै लागि पनि तालिम दिन आवश्यक छ।’

सामाजिक संघसंस्थामा आवद्ध भएर नेतृत्व गर्दै आएकै व्यक्तिहरूमा समेत भाषाको दख्खल नदेखेपछि कम्तिमा वर्षको एक पटक कक्षा सञ्चालन गर्नेगरी नयाँ कार्यक्रम ल्याएको तमू ह्युल छोंज धीं चितवनका वरिष्ठ उपाध्यक्ष एवम् भाषा कक्षा सञ्चालन उपसमितिका संयोजक कृष्णबहादुर गुरूङले बताए।

चितवनमै जन्मिएका करिब शतप्रतिशतलाई भाषा नआउने हुँदा भाषा हराउने जोखिम बढेको उनले बताए। ‘हामीले पनि नसिके पछिका पुस्ताले झन् क्यै नबुझ्ने हो कि भन्ने चिन्ता भयो,’ कार्यक्रममा स्वागत मन्तव्य दिने क्रममा उनले भने, ‘त्यसैले चितवनमै बसोबास गर्ने र भाषा बोल्न सक्नेहरूमार्फत तालिम दिलाउने प्रयास गरेका हौँ।’

तमू ह्युल छोंज र्धी बागमती प्रदेश प्रमुख एवम् चितवन जिल्लाका निवर्तमान अध्यक्ष गणेशबहादुर गुरूङले कुनै पनि जातिका लागि आफ्नो भाषा नै सबैभन्दा महत्त्वपूर्ण पहिचान भएको हुँदा यसको संरक्षण गर्नु ह्युल छोंज धींको कर्तव्य भएको बताए। आगामी दिनमा पनि जिल्ला समितिले यस्ता कार्यक्रमलाई वार्षिक कार्ययोजना निर्माण गरेर नियमित गराउन आवश्यक रहेको उनको भनाइ छ।

‘ह्युल छोंज धींले हरेक इकाइ तथा गुरूङ जातिको बस्ती भएको ठाउँमा गएर तालिम दिन जरूरी छ,’ उनले भने, ‘त्यसले भाषा संरक्षणमा टेवा पुग्छ।’ गतवर्षदेखि भाषाको लागि कक्षा सञ्चालन गरेर तमू ह्युल छोंज धींले नमुना कायम गरेको उनको भनाइ छ।

तमू ह्युल छोंज धींकी केन्द्रीय सल्लाहकार शारदा गुरूङले गुरूङ जातिको पहिचान र अस्तित्व जोगाउने अभियानमा ह्युल छोंज धींले सक्रियता देखाएको भन्दै खुसी व्यक्त गरिन्। ‘व्यक्तिले मात्रै पहल गरेर साध्य हुँदैन। संस्थागतरूपमै संरक्षणमा ध्यान दिने हो भने भावी पुस्तासम्म हाम्रो भाषा जीवित रहन सक्छ,’ उनले भनिन्।

ह्युल छोंज धींका केन्द्रीय सदस्य गोपीराम गुरूङले भाषा सिकेर बोलीमा अभ्यास गर्नुपर्ने सुझाव दिए। ‘वर्षमा दुई हप्ता सिक्दैमा ठूलै परिवर्तन हुन्छ भन्ने सोच्नु हुँदैन,’ उनले भने, ‘त्यसको लागि त सिकेको भाषालाई बोलीमा अभ्यास गराउने प्रयास गर्नुपर्छ। नत्र सिकेको कुरा पनि बिर्सन्छ।’

तालिममा पत्रकार तुलमान गुरूङसहित उमिता गुरूङ, सीतादेवी गुरूङ, हरिमाया गुरूङ र कमला गुरूङले प्रशिक्षण दिनेछन्।

तस्बिर : करिश्मा गुरुङ/बिहानी मिडिया