कभर स्टोरी

पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङको ‘जनताको छोरो’ अब ‘सन अफ दी पिपुल’

काठमाडौं । पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङद्वारा लिखित ‘सन अफ दी पिपुल’ को आज एक पारिवारिक माहोलकाबीच लोकार्पण गरिएको छ ।

२०७२ चैतमा प्रकाशित उनको आत्मकथा ‘जनताको छोरो’ लाई अंग्रेजी संस्करणमा आज काठमाडौंमा सार्वजनिक गरिएको हो ।

पूर्वप्रधानसेनापति गुरुङका सम्धीद्वय भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्वउपरथी ओमबहादुर पुनले पुस्तकको विमोचन गरे ।

पुस्तक विमोचन गर्दै मीनबहादुर गुरुङले नेपालमै रहेर पनि इमान्दारिताका साथ काम गरियो भने उच्च पदमा पुग्न सकिने विश्वास पुस्तक पढेर नयाँ पिढीले गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शब्दद्वारा श्रीमती कमला गुरुङले स्वागत गरेका थिए । त्यस्तै मन्तव्यमार्फत स्वागत गर्दै छोरा डा. प्रतीक गुरुङले विदेशमा रहेका नेपालीहरुका लागि उक्त पुस्तक महत्वपूर्ण हुने बताएका थिए ।

अर्का छोरा प्रवलमानसिंह गुरुङले बुबासँग बाल्यकालमा बिताएका कुरालाई रोचक ढंगले प्रस्तुत गर्दै पुस्तकका बारेमा धारणा राखेका थिए । उनले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा सगरमाथा टेलिभिजनका संस्थापक निर्मल गुरुङले प्रधानसेनापति जस्तो गरिमामय पदमा एकजना गुरुङको छोरो पुग्नुले आफूहरुलाई गर्व लागेको बताए ।

पुस्तकको अनुवाद चिरनजंग थापाले गरेका थिए । कार्यक्रम वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङले सञ्चालन गरेका थिए ।

तस्वीर : नविनबाबु गुरुङ