प्रवास

२४४ वर्ष पुरानो गुम्बा पुनर्निर्माणका लागि तमु समाज युकेबाट ७ लाख ७० हजार पाँच सय रुपैयाँ सहयोग

  • खिमा गुरुङ

पोखरा । पर्वतको साङ ङाग दोर्जे छोयालिङ गुम्बालाई तमु समाज युकेले ७ लाख ७० हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष शिव कुमार गुरुङले गुम्बाको पुनः निर्माण र स्तरोन्नतिका लागि रकम सोमबार हस्तान्तरण गरेका हुन् ।

जसमा तमु समाज युकेको तर्फबाट रु १ लाख, अध्यक्ष शिव कुमार गुरुङ र श्रीमती मिना गुरुङबाट रु १ लाख १ सय उनन्साठी, तमु समाज युकेका आमा समिति अध्यक्ष उमा देवी गुरुङ र सल्लाहकार श्रीमान रामचन्द्र गुरुङबाट रु १ लाख ५, सल्लाहकार उदय गुरुङ र श्रीमती विमला गुरुङबाट रु १ लाख १ सय ८ र ३ लाख ७० हजार २ सय अठ्ठाईस रुपैया तमु समाज युकेका कार्य समितिका सदस्यहरु र आजीवन सदस्यहरुबाट संकलन गरिएको थियो ।

आर्थिक संकलन कार्यमा तमु समाज युकेका कोषाध्यक्ष खेमबहादुर गुरुङ र महासचिब धरम बल गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समूहका अध्यक्ष उमा देवी गुरुङले महत्वपुर्ण भूमिका निभाएको अध्यक्ष शिव कुमार गुरुङले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा तमु समाज युकेका अध्यक्ष गुरुङले पर्वतको २ सय ४४ वर्ष पुरानो गुम्बाको पुनः निर्माण गरेर अझ देश विदेशमा प्रचारप्रसार गरी सबैको साझा धार्मिक स्थलको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । अध्यक्ष गुरुङले राज्यबाट थप सहयोग ल्याउनका लागि पहल गर्न र प्राप्त रकमको पारदर्शी रूपमा परिचालन गर्न सुझाव दिए ।

सल्लाहकार मनोज गुरुङले पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४, आर्थरडाँडाखर्कमा रहेको साङ ङाग दोर्जे छोयालिङ गुम्बा वि.सं. १८३६ मा स्थापना गरिएको भनिएतापनि त्यो भन्दा पहिला नै स्थापना हुनसक्ने भएकोले थप अनुसन्धान गर्नपर्नेमा जोड दिए । त्यो ठाउँ पृथ्वीनारायण शाहबाट वि. सं. १७८१ र १७८७ मा बाइसे र चौबीसे राज्य एकीकरण गर्ने क्रममा गुम्बाको लागि बिर्ता पाएको बुझाइ रहेको उनको भनाइ छ । गुरुङकै पहलमा गुम्बा पुनः निर्माणका लागि नेपाल सरकार शहरी विकास तथा स्थानीय प्रशासन मन्त्रालयबाट रु ३० लाख सहयोग प्राप्त भएको छ ।

त्यस्तै कार्यक्रममा प्रमुख सल्लाहकार क्या. लालप्रसाद गुरुङ, सल्लाहकार शेर बहादुर गुरुङ र अध्यक्ष स.ई कमल गुरुङले पर्वतको पुरानो गुम्बा भएपनि विकास हुन नसकेको र सिथिल भएको अवस्थामा यसको पुनः निर्माणको कार्य थालनी गरेकोमा देश विदेशबाट प्राप्त सहयोगले थप हौसला बढाएको बताए ।

प्रमुख सल्लाहकार क्या. लाल प्रसाद गुरुङले भान्सा र सभाहलको लागि नयाँ भवन बनाउन जग्गा दान समेत गरेका थिए ।

कार्यक्रममा पन्चकोशी आर्थर डाँडाखर्क समाज पोखराका अध्यक्ष तथा साङ ङाग दोर्जे छोयालिङ गुम्बा पुनः निर्माण समिति अध्यक्ष स.ई. कमल गुरुङ तथा पदाधिकारी एवं सदस्यहरु, समितिका सल्लाहकारहरु, धर्म गुरुङ जन्ता लामा गुरु, आमा समूहका अध्यक्ष रुकमेणी गुरुङ लगायत आमा समूहका दिदी बहिनीहरुले प्रमुख अतिथि तथा तमु समाज युकेका अध्यक्ष शिब कुमार गुरङलाई भब्य स्वागत तथा सम्मान गरेका थिए ।

साङ ङाग दोर्जे छोयालिङ गुम्बाको पुनःनिर्माण समितिका अध्यक्ष स.ई. कमल गुरुङको अध्यक्षतामा भएको १५औं बैठक तथा रकम हस्तान्तरण कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष ना.सु. मेख बहादुर गुरुङले र सञ्चालन सचिव रतन बहादुर गुरुङले गरृेका थिए ।