प्रवास

ब्रिटिश आर्मीमा डाइरेक्ट मेजर पदमा पहिलो गोर्खा डा. सुदर्शन गुरुङ

युके । बेलायतको इतिहासमा गोर्खाहरु विगत दुई सय आठवर्षदेखि सेनाको अन्य रैंकमा भर्ती भएर सेवाकालमा अफिसर तहमा पुगेर सेवा निवृत्त हुने गर्दै आएका छन । पछिल्लो समयमा गोर्खाली मुलका व्यक्तिहरु डाईरेक्ट ब्रिटिश आर्मीका विभिन्न विभागमा डाईरेक्ट क्याप्टैन तहसम्म कमिशन प्राप्त गरेर अफिसर तहमा सेवा गर्दै आइरहेका छन् । सबैभन्दा पहिले गोर्खा समुदायबाट मेजर तहमा कमिशन प्राप्त गर्ने व्यक्ति डा. सुदर्शन गुरुङ बनेका छन् ।

बरिष्ठ साहित्यकार तथा समाजसेवी बुवा सुमलकुमार गुरुङ र आमा सारादेवी गुरुङको कोखबाट पर्वत जिल्ला मोदी गाउँपालिका वडा नम्बर ८, चित्रेमा सन् १९८७ मा जन्मेका सुदर्शन गुरुङले सन् २०१० सालमा नेपाल मेडिकल कलेजबाट एमबिबिएस पास गरेर सन् २०१२ मा बेलायत आएर चिकित्सक सेवामा सेवा गर्न थालेका थिए ।

चिकित्सक सेवामा संलग्नता रहेपश्चात एमआरसीपी (एमडी तह) त्यसपछि एफआरसिपि ह्यामोटलाजी को कन्सल्ट्यान्ट (विशेषज्ञ) तहको अध्ययन पूरा गरेर चिकित्सक क्षेत्रमा कार्यदक्षता हासिल गर्दै आएका थिए ।

बेलायतको चिकित्सा क्षेत्रमा नेपाली समुदायबाट सबैभन्दा कम उमेरमा केन्टस्थित मिडवे अस्पताल, जिलिंगहाममा क्यान्सर विभाग प्रमुख हुने श्रेय पनि डा. सुदर्शनलाई जान्छ ।

कलिलै उमेरदेखि आफ्नो अध्ययन र सेवामा दत्तचित्त भई अघि बढिरहेका मेजर डा. सुदर्शन गुरुङले चिकित्सा क्षेत्रमा धेरै कल्याणकारी कामहरु गरिसकेका छन् । नेपालको महाभूकम्पको बेला डा. कपिल रिजाल सहित डाक्टरहरुको समूहमा अघिल्लो पंंक्तिमा उभेका डा. सुदर्शन गुरुङले बेलायतमा स्वास्थ्य शिविरहरुको कार्यक्रमहरुमा सक्रिय भूमिका निभाउँदै आएका छन् ।

आफ्नै प्रयासमा केही आर्थिक रकम संकलन गरेर नेपालको मुसहर बस्तीमा स्वास्थ्य शिविरको आयोजना गरेर गरिब निमुखाहरुको लागि निःशुल्क सेवा र औषधोपचार उपलब्ध गराएका थिए ।