गुरुङ विशेष

गुरुङ समुदायको ऐतिहासिक थलोकिलोको खोजी गरिँदै, खुल्यो नयाँ तथ्य

काठमाडौं । तमू अर्थात गुरुङ समुदायको पौराणिक थलो तथा बस्ती विकासका बारेमा गरिएको अनुसन्धानको रिपोर्ट सार्वजनिक भएको छ ।

भ्लोनमे/प्ल्होनमे अर्थात लामिछाने भाइखलक युकेको पहलमा यो अनुशन्धान भएको हो । नेपाल देशको स्थापना हुनुअघिदेखि नै बसोबास गर्दै आइरहेका गुरुङ समुदायको वास्तविक पहिचानलाई ठम्याउन यो अनुशन्धान गरिएको अनुशन्धानकर्ता कृष्णकुमार गुरुङले बताए ।

उनका अनुसार, गुरुङ समुदायको नेपाल प्रवेश र बस्ती विकासका बारेमा बैज्ञानिक तथ्यमा आधारित रहेर खोज अनुशन्धानको काम गरिएको छ । खोजकर्ता गुरुङ भन्छन्–“गुरुङ समुदायका बारेमा हिजो भएका र अहिले गरिएका खोज अनुशन्धानहरु बैज्ञानिक तथ्यसंगत भए नभएको परीक्षण गरी नयाँ पिढीलाई बैज्ञानिक र वास्तविक तथ्यसहितको सम्पत्ति हस्तान्तरण गर्न यो अनुशन्धान गरीएको हो ।”

गुरुङ समुदायको उद्गम स्थल मंगोलियाको कोकोनोर ताल भएको क्षेत्र रहेको कृष्ण गुरुङको खोजले प्रष्ट्याएको छ । उनका अनुसार ईसापूर्व ११०० देखि १५०० को अवधिमा अहिले गुरुङ भनिने मानव समुदाय (त्यसबेला गुरुङ जातीको रुपमा स्थापित भैसकेका थिएनन्) मुस्ताङको गरब्जङ ठिनीक्ह्याल्सा र कोबाङ हुँदै गण्डकी क्षेत्रमा प्रवेश गरेको तथ्य डिएनए परीक्षणबाट प्रमाणित भएको छ ।

मुस्ताङको कोबाङ क्षेत्रमा भेटिएको मानव अवशेषको बेलायतको स्कर्टिस युनिभर्सिटीमा गरीएको रेडियो कार्बन डेटिङ परीक्षणबाट पनि यो तथ्य प्रमाणित भैसकेको छ । बेलायतमा सम्पन्न तमू फोरमको बैठकमा डा. जगमान गुरुङले लामिछाने थरका गुरुङहरुको प्रागऐतिहासिक थलोकिलोको खोजी गर्न दिएको निर्देशनले यो अनुशन्धानको जन्म भएको भ्लोनमे÷प्ल्होनमे अर्थात लामिछाने भाइखलक युकेका अध्यक्ष मेजर उदयबहादुर गुरुङले जानकारी दिए । उनले भने, “लामिछाने खलकको मात्रै खोजीनीति गर्न खोजेको यो हाम्रो प्रयास अहिले आएर सिंगो गुरुङ समुदायका विषयमा खोज अनुशन्धान गर्ने अभियानको रुप लिएको छ । यो हामी सबैकालागि खुसी र गौरबको विषय बनेको छ ।”

यो अनुशन्धान बैज्ञानिक धरातलमा आधारित रहेको र गुरुङ समुदायको ऐतिहासिक विषयबस्तुहरुको खोजबिन गर्ने क्षेत्रमा राम्रो उपलब्धी भएको पुरातत्वविद् उद्धव आचार्यले बताए ।