गुरुङ विशेष

बुटवलमा ल्होसार भयो भव्य

  • कुमार गुरुङ

बुटवल । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले गुरुङहरुको महान पर्व मुप्री ल्हो (गिद्ध बर्ग) २०८० ल्होसार भव्य रुपमा सम्पन्न गरेको छ।

प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले दीप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरेका थिए । ल्होसार पर्वले गुरुङ जातिहरुको भाषिक पहिचान भेषभूषा, संस्कार, संस्कृतिलाई जोगाइराखेको र यी यस्ता कार्यक्रमले पक्कै पनि जातीय, भाषिक पहिचानमा टेवा पुग्ने बताउँदै उनले पछिल्ला पुस्तासम्म यसलाई संरक्षण गर्दै लैजानुपर्ने बताए ।

कार्यक्रममा वक्ताहरु विशेष अतिथि तमु ह्युल छोज् धि गुरुङ राष्ट्रिय परिषदका पूर्वकेन्द्रीय संरक्षक समितिका सभापति माया गुरुङ, तमू (गुरुङ) सञ्चाररकर्मी संघका केन्द्रीय सचिव कुमार गुरुङ, भाषा खेमा लिपीका निर्माता बालनर्सिङ गुरुङ, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला माङी अध्यक्ष जुनु गुरुङ, तमु ह्युल छोज धिं बुटवल नगर समिति अध्यक्ष बुद्धीप्रसाद गुरुङ, आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, थारु कल्याणकारी सभा जिल्ला अध्यक्ष कमल नारायण चौधरी, नेपाल मगर संघका लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष जनक थापा मगर, तमु विद्यार्थी रुपन्देहीका पूर्वअध्यक्ष सुशील गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायिका सपना गाहा मगर, गायक दिपक दर्लामी र गायिका लालमाया थापाले साङ्गीतिक प्रस्तुतिका साथै स्थानीय कलाकारहरुले गुरुङ गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

परिषदका जिल्ला अध्यक्ष बिमला गुरुङ र तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश प्रमुख झप्पट गुरुङले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने समाजसेवीहरुलाई खादा लगाएर सम्मान गरिएको थियो ।

तमु युवा ह्युल छोज धि लुम्बिनी प्रदेशका अध्यक्ष अर्जुन गुरुङका् संयोजकत्वमा भएको छेलो खेल प्रमुख अतिथी खेलराज पाण्डे र अतिथि परिषदका रुपन्देही माङी अध्यक्ष जुनमाया गुरुङले संयुक्त छेलो फालेर प्रतियोगिताको सुरुवात गरेका थिए ।

प्रतियोगितामा प्रथम पवन गुरुङ, द्वितीय कमल गुरुङ, तृतिय कोशिष गुरुङ र सान्त्वना महिला जेनिषा गुरुङ भएकी छिन । जिल्ला अध्यक्ष बिमला गुरुङको अध्यक्षता र उपाध्यक्ष गंगा गुरुङको स्वागत तथा संचालन सचिव ओम प्रकाश गुरुङले गरेका थिए ।