कभर स्टोरी

ल्हो–फल : मुप्री ल्हो

  • लोपेन रामप्रसाद गुरुङ

तमू ल्होछार २०८१ मुप्री ल्हो (गरुड वर्ग)को शुभ उपलक्ष्यमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना ।
तमू (गुरुङ) जातिको महान् पर्व तमू ल्होछार पुस १५ गते हि–ल्हो (बिरालो वर्ग)लाई बिदाई गरी मुप्री ल्हो (गरुड वर्ग)लाई स्वागत गर्दै हर्षाेल्लासको साथ मनाइने चाडको शुभअवसरमा गरुड वर्गले भोग गर्ने समय अवधिको वर्गफल तपसिलअनुसार प्रस्तुत गर्दछु ।

मुप्री ल्हो (गरुड वर्ग) स्वःग्रह (राङ्केग) ग्रह लाग्ने देखिन्छ । यस वर्षमा गरुड वर्गका सबै स्त्री तथा पुरुष, बालक, बृद्ध मानिसहरूलाई राङ्केग (स्वःग्रह) लाग्ने गर्दछ । तसर्थ गरुड वर्गका मानिसहरूलाई बिरामी भेट्न, बिरामीको स्याहार गर्न र घर निर्माण कार्य थाल्नसमेत हानिकारक हुनुका साथै स्वास्थ्य, धन र आयुमा समेत हानी हुन सक्ने भएको हुँदा सचेत रहनु पर्दछ । दुर्घटना हुन सक्ने, विवादमा पर्न सक्ने, आरोपहरू लाग्न सक्ने, धनको खति हुन सक्ने, दुःख–पीडा र शोकले सताउने सम्भावना देखिन्छ । निवारणका लागि पुण्यकार्यमा तन र मन लगाउनु राम्रो हुनेछ । राङ्केग वर्गमा परेको हुनाले आयु पूजा, वाङ अभिषेक, सह पूजा, दोमाङ पाठ, छेथर, ढुक्कार, ङिठी, तोगझुङ र कागदोग आदिको पाठ गराई ग्रह शान्ति गर्दा उत्तम हुन्छ ।

खि–ल्हो (कुकुर वर्ग)लाई सप्तकोणी ग्रह लाग्नेछ । कुकुर वर्गका सबै स्त्री तथा पुरुष बालक तथा वृद्धाहरूलाई ध्हुन्सुर (सप्तकोणी) ग्रह चल्ने हुनाले ग्रहको प्रकोपमा परी झै–झगडा हुन सक्ने, पारिवारिक तथा स्त्री विवादमा फस्न सक्ने, आँटे, ताकेको कार्यहरू पूरा नहुने, विदेश यात्रा गर्दा स्वास्थ्य, धन र मान प्रतिष्ठामा हानी हुनसक्ने भएकाले सतर्क रहनु पर्ने हुन्छ । अनावश्यक व्यक्तिहरूसँग सतर्क रही ग्रह शान्तिका लागि ध्हुन्सुरको ग्रह फाल्नुका साथै छ्युुसुम, तोब्छेन, पुङ्गेन धोङ्ग्येन, डाल्हा ग्याल्छेन चेमो, तोक्झुङ ग्रन्थ वाचन तथा नाग पूजा आदि गराउनु राम्रो हुनेछ भने टाढाको यात्रा गर्नु परेमा आफ्नो उमेर जतिको संख्यामा सा छा बनाई दुई च्योएको दिशामा र मार्मे ध्यिप डेङाको दिशातर्फ चढाई यात्रा गर्दा दोष लाग्ने छैन ।

मुसा वर्ग र बाँदर वर्गलाई त्रि–अनुकुल ग्रह चल्नेछ । यस वर्गका सबै बालक, वृद्ध, स्त्री तथा पुरुषहरूलाई थ्यिंसुम त्रि–अनुकुल ग्रहद्वारा वर्षभरि प्रभावित हुनेछ । यस वर्षमा लडाइँ, झगडा, विवाद आदिमा पर्न सक्ने र मलामी जान अत्यन्त हानिकारक हुन सक्छ । थ्हिसुमको दोषबाट ग्रसित मानिसहरूको मन अशान्त, अस्वस्थ हुनुका साथै पढाइमा पनि बाधा हुने सम्भावना देखिन्छ । लामो यात्रा गर्न र बसाइँ सर्न पनि हानिकारक हुन सक्नेछ । क्हाब्सी, सिनेन, याङ्गुग, फोल्हाको पूजा गरेर ग्रहशान्ति गर्दा राम्रो हुनेछ ।

भेडा वर्ग र गाई वर्गलाई चर्तुघाती ग्रह चल्ने छ । यस वर्ष भेडा वर्ग र गाई वर्गको सबै मानिसलाई शिस्हे (चतुर्घाती) ग्रहले ग्रसित पार्नेछ । शि स्हेद्वारा ग्रसित मानिसहरूले मित्रता गाँस्न विदेश जान व्यापारको सुरुवात गर्न बसाइँ सर्न जग्गाको कारोबार गर्न हानिकारक हुन सक्दछ । उक्त ग्रह शान्तिको लागि ञिठि, स्रोग्लु, मेन्दो, धोमाङ भर्छे लम्सेल, सम्पा ल्हुन्डुब, ग्यातोङपा बाचन गराई साङ्ग्ये मेनल्हाको जप साधना गराएमा ग्रह दशा शान्ति हुनेछ ।

शुभ ग्रह सगुणी वर्ग बाघ वर्ग र घोडा वर्ग । यस वर्ष हरेक शुभ कार्यहरूका लागि गाई र सर्प वर्गबाट शुभारम्भ गराउँदा लाभदायक हुनेछ ।