प्रवास

फोनिज यूकेबाट तमुलाई पत्रकारिता पुरस्कार, सेनेलाई सम्मान

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुलाई पत्रकारिता पुरस्कार र सञ्चारकर्मी विमला सेनेलाई सम्मान गरेको छ ।

फोनिज युकेको चौथो अधिवेशनका अवसरमा शनिबार १६ डिसेम्बर २०२३ मा अल्डरसटमा प्रबन्ध निर्देशक तमु यस वर्षको फोनिज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । यसैगरी, फोनिज युकेले यस वर्षको प्रतिष्ठित पत्रकारिता सम्मान सेनेलाई दिएको छ ।

दुवै जनालाई नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा र फोनिज यूकेकी अध्यक्ष गोमा रानाले प्रमाणपत्र, खादाले सम्मान गरे । तमुलाई भने १ सय १ पाउन्ड राशिको पुरस्कार रहेको छ ।

तीन दशकदेखि फोटो पत्रकारका रुपमा चिनिएका तमुले ३ वर्षदेखि आफ्नै एकल लगानीमा गोर्खा मिडिया डट कम संचालन गर्दै आएका छन् । गोर्खाज डटकम तथा एभरेष्ट टाइम्समा लामो समय पत्रकारितामा योगदान गरेका उनको फराकिलो परिचय छ । एभरेष्ट टाइम्समै उनको १२ वर्षसम्म फोटो पत्रकारिताको योगदान छ ।

पोखरा नयाँबजारका उनको पुर्ख्यौली गाउँ कास्कीको रिभान हो । हाल उनी अल्डरसटमा सपरिवार बस्दै आएका छन् ।

सन् १९९२ बाट ब्रिट्रिस फोर्सेस ब्रोडकाष्टिङ सर्भिस ब्रुनाईबाट रेडियो पत्रकारिता सुरु गरेकी सेनेले इटहरीबाट संचालित सप्तकोशी एफएममा सन् २००४ देखि निरन्तर करिब १० वर्ष रेडियो पत्रकारिता गरिन् ।

वाणिज्यशास्त्रमा स्नातकोत्तर उनी ब्रुनाईमा रेडियो सेवा सँगै लण्डनको नेपाली टिभीमा समाचार प्रसारिकरुपमा पनि काम गरिन् । सन् २०१४ देखि गोर्खा च्यानल चलाएकी उनी तेह्रथुमको लालीगुराँसमा जन्मेकी हुन् । उनी नेपाल पत्रकार महासंघ युके शाखाको नेपालको निमित्त केन्द्रीय प्रतिनिधिरसदस्य एवं पूर्व उपाध्यक्ष हुन् ।

फोनिजका पूर्वअध्यक्षहरु सम्मिलित छनौट समितिले प्रतिभा छनोट गरेको हो । समितिमा हालका अध्यक्ष गोमा रानासहित पूर्वअध्यक्षहरु किरण टी लिम्बु, विश्वास दीप तिगेला र प्रमिला लाबुङ थिए । गत वर्ष एभरेष्ट टाईम्स साप्ताहिकका संस्थापक हरि गुरुङलाई सम्मान र अमित थेवेलाई पुरस्कृत गरिएको थियो ।