प्रवास

द गुरुङ (तमु) सोसाइटी इंक युएसएले मनायो तिहार

न्युयोर्क । द गुरुङ (तमु) सोसाइटी इंक युएसएले तिहार तथा शुभदिपावली २०२३, देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । सोसाइटीले नेपालीहरुको दोश्रो महान पर्व तिहार हरेक बर्ष आयोजना गर्दै आएको छ ।

धर्म हाउस उडसाइडमा गएको शनिबार भएको कार्यक्रममा सबैभन्दा पाका महिला बेल कुमारी घले र अध्यक्ष ओम गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरेर र पञ्चकन्या नानीहरु उपस्थित भई कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा उपस्थित सबै सहभागीले नेपालको गाउँघरमा जस्तै मौलिक रुपमा मादल, खैचडी, सारंगी, गितारको तालमा भट्याएर देउसीभैली खेलेका थिए ।

उपस्थित सहभागीहरुले भैली कार्यकम्रको दृश्य कुनै शहरको हलमा नभएर कुनै गाउँघरको खुल्ला आकाशमा कसैको घर आँगनीमा भैली खेलेको अनुभूति भएको प्रतिकृया दिए । सबै सहभागीहरुले भैलीलाई गक्ष अनुसारको रकम दान गरेका थिए ।

कार्यक्रममा बाल कलाकार ओजा गुरुङ र २५ बर्षदेखि न्यूयोर्कमा नृत्य गर्दै आएकी वरिष्ठ कलाकार वसन्ती राई तथा कलाकार रुथमान गुरुङले नृत्य प्रस्तुत गरेका थिए । साथै अध्यक्ष ओम गुरुङ, प्रथम महिला डा. सुलोचना गुरुङ र युवा अमिर गुरुङले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा तिहार तथा शुभदिपावली २०२३ को हार्दिक शुभकामना व्यक्त गर्दै अध्यक्ष ओम गुरुङले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे ।

अध्यक्ष गुरुङले देउसीभैली कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने संस्थापक अध्यक्ष, सल्लाहकारहरु, सम्पूर्ण आजीवन सदस्यहरु, कार्यसमिति सदस्यहरु, द गुरुङ (तमु) सोसाइटी आमा चेलीबेटी आमा दिदी बहिनीहरु, साधारण सदस्यहरु, स्वंयसेवक युवा भाइ बहिनीहरु सबैप्रति आभार व्यक्त गरे ।

नेपाली संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्दै जानको लागि र आफ्नो राष्ट्र र माटोको सम्मानको लागि पनि परदेशको भूमिमा यस्तो
कार्यक्रम आयोजना गरेको सोसाइटीले जनाएको छ ।

हरेक व्यक्तिको साथ सहयोगले नै हाम्रो समाज अझ बलियो हुने हुनाले आउने कार्यक्रमहरुले सामाजिक सद्भाव कायम गर्न यस्तो कार्यक्रम गर्दै आएको सोसाइटीका अध्यक्ष ओम गुरुङले बताए ।

कार्यसमिति सदस्य अर्जुन गुरुङ तथा कोषाध्यक्ष अञ्जित गुरुङले कार्यक्रमको संयोजन गरेका हुन् । कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष अलिशा गुरुङले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाली मौलिक परिकारहरु सेलरोटी, आलुदम, भट्मासको अचार, नेपाली खाना दालभात, खसी तथा कुखुराको मासु लगायतका परिकार कार्यसमिति सदस्य तथा अन्य स्वयंसेवकहरुले बनाएर सर्भ गरेका थिए ।

कार्यक्रममा उपस्थित सबै दाजुभाइहरुलाई टोपी लगाएर तथा दिदी बहिनीहरुलाई फूल दिएर स्वागत गरिएको थियो । साथै द गुरुङ (तमु) सोसाइटी आमा चेलीबेटी आमा दिदी बहिनीहरुले विभिन्न परिकारहरु अचार, सेलरोटी र फूलहरु प्रदान गरी सहयोग गरेका थिए ।

कार्यक्रममा झण्डै ६ हजार ५ सय डलर रकम संकलन भएको थियो । परम्परागत शैलीमा देउसी भैली खेलेपछि कार्यक्रममा उपस्थित सबै जना नेपाली लोक दोहोरी तथा झयाउरे गीतमा कम्मर मर्काइ मर्काइ नाचेर मनोरञ्जन लिएका थिए ।

कार्यक्रममा ४ बर्षका बालबालिकादेखि ७५ बर्ष उमेरसम्मका सहभागी सबैलाई निःशुल्क रुपमा प्रवेश तथा खानाको व्यवस्था गरिएको थियो ।