गुरुङ विशेष

तमू प्ये ल्हु संघ चितवनद्वारा दुई जनालाई सम्मान

भरतपुर । तमू प्ये ल्हु संघ चितवनले दुई जनालाई सम्मान गरेको छ। बागमती प्रदेश सभा सदस्य गीता गुृङ र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी मेडिकल अधिकृत दीपाली गुरूङलाई सम्मान गरेको हो। संस्थाको बीसौँ साधारण सभा तथा सातौँ अधिवेशनको अवसर पारेर दुई जना चितवने चेलीलाई सम्मान गरेको हो।

तमू प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरूङ, बागमती प्रदेशकी निवर्तमान सांसद रीना गुरूङ, प्ये ल्हु संघ चितवनका संस्थापक भीमबहादुर गुरूङलगायतको उपस्थितिमा सम्मानपत्र प्रदान गरिएको हो। राजनैतिक तथा स्वास्थ्य क्षेत्रमा एक पाइला भए पनि खुड्किलो उक्लिन सफल भएको भन्दै दुवै जनालाई सम्मान गरिएको संघका निवर्तमान अध्यक्ष लालप्रसाद गुरूङले बताए।

सोही क्रममा संघका निवर्तमान अध्यक्ष गुरूङले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले एक लाख एक हजार राशिको अक्षयकोषसमेत स्थापना गरिदिएका छन्। विद्यार्थीको शैक्षिक भविष्यमा टेवा पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गरिदिएको उनले बताए।