गुरुङ विशेष

जन्मस्थल लमजुङमा भूगालेविद् डा. हर्क गुरुङको सम्झना

लमजुङ । जन्मथलो लमजुङको मस्र्याङ्दी गाउँपालिका ७ ताङ्लीचोकमा भूगोलविद् डा. हर्क गुरुङलाई सम्झना गरिएको छ । गुरुङको १७ औं स्मृति दिवसको अवसरमा शनिबार स्थानीयले डा. गुरुङको समाधिस्थलमा माल्यार्पण गरेर सम्झिएका हुन् ।

गाउँ नजिकै रहेको समाधिस्थलमा स्थानीयले दियो, धुप बत्ति बालेर डा. हर्कको नाममा पूजापाठ गरेका छन् । डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष एवं डा। हर्कका भतिज तिलबहादुर गुरुङका अनुसार भूगोलविद डा. हर्क गुरूङको १७ औं बार्षिकी तथा स्मृति दिवसमा औपचारिक कार्यक्रम गरेर श्रद्धाञ्जली अर्पण गरिएको हो ।

नेता, जनप्रतिनिधि, प्रतिष्ठानका पदाधिकारी, ताङ्लीचोक गाउँबासी, मनास्लु तमु आमा समूहका पदाधिकारी, विद्यार्थीहरुले डा. गुरुङलाई सम्झिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य जमीन्द्रमान घलेले डा. हर्क गुरुङलाई राज्यले उचित सम्मान दिन नसकेको बताए ।

राज्यलाई योगदान दिने व्यक्तिलाई राज्यले सम्मान गर्नुपर्ने भन्दै उनले डा. हर्क गुरुङलाई राष्ट्रिय विभूति बनाइनुपर्नेमा जोड दिएपनि सरकारले वास्ता नगरेको गुनासो गरे ।

मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले डा. हर्क गुरुङ मस्र्याङ्दीको मात्रै नभएर, लमजुङको मात्रै नभएर देशकै नामलाई संसारमा चिनाउने व्यक्ति भएको बताए ।

मनास्लु तमू आमा समूह ताङ्लीचोकका अध्यक्ष बालमाया गुरुङले डा. गुरुङलाई श्रद्धाञ्जली अर्पण गर्दै गाउँ समाजको नाम राख्ने गुरुङलाई अझै पनि सम्मानको खाँचो रहेको बताए ।

डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानका अनुसार डा. हर्क गुरुङको समाधिस्थल वरपर ३० रोपनी जग्गाको व्यवस्थापन गरेर आवश्यक भौतिक संरचना निर्माण थालिएको छ ।

वि.सं. १९९५ साल पुस २१ गते (सन् १९३९ जनवरी ५) का दिन बाबु पारसै गुरुङ र आमा मैस्योको कोखवाट ठूलकान्छा छोराको रुपमा जन्मेका डा. हर्क बहुमुखी प्रतिभाका धनी थिए ।

विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा डा. हर्क चढेको हेलिकप्टर २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा दुर्घटना हुँदा उनी लगायत विभिन्न प्रतिष्ठित व्यक्तिको निधन भएको थियो ।