गीत–संगीत

चलचित्र ‘एक भागवत गीता’ सँग जिफानले सोध्यो स्पष्टीकरण

काठमाडौं । झरना थापा निर्देशित नेपाली चलचित्र ‘एक भागवत गीता’ को निर्माण पक्षसँग गुरुङ समुदायले स्पष्टिकरण सोधेको छ ।

गुरुङ चलचित्रकर्मीहरुको छाता संगठन गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) ले चलचित्रको निर्माण पक्षसँग स्पष्टिकरण सोधेको हो ।

जिफानले चलचित्र ‘एक भगवत गीता’ मा गुरुङ समुदायको भेषभुषासहित केही कथावस्तुसमेत समेटिएको भन्दै निर्माण पक्षलाई पत्र लेखि त्यसबारे जानकारी माग गरेको छ ।

सुहाना इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भइ प्रदर्शनको तयारीमा रहेको ‘एक भागवत गीता’ नामक चलचित्रको प्रचार सामग्रीमा गुरुङ समुदायको भेषभुषासहित केही कथावस्तु समेत समेटिएकोमा आफ्नो ध्यानाकर्षण भएको जिफानले जनाएको छ । यसबाट भविष्यमा बिबाद उत्पन्न हुने, धार्मिक सद्भाव खल्बलिने तथा अप्रिय अवस्थाको सिर्जना हुनसक्ने अवस्थाबारे सचेत गराउँदै अध्यक्ष गुञ्जबहादुर गुरुङ र महासचिव तोलबहादुर गुरुङ (लब्सन) द्वारा हस्ताक्षरित पत्र मार्फत फिल्मको निर्माण पक्षसँग जिफानले स्पष्ट जानकारी दिन भनेको छ ।

जिफानको १५औं साधारण सभाबाट अनुमोदित संस्थाको विधान तथा नियमावलीले नेपाल भित्र वा बाहिर निर्माण गरिएका कुनै पनि भाषाका चलचित्रमा गुरुङ समुदायको सामुदायिक विषयबारे उठान गरिएको खण्डमा निर्माण पक्षले छायाँकन अगावै कथाको उक्त अंशबारे गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) बाट प्रमाणिकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसअघि पनि यस चलचित्रमाथि सनातन धर्ममा आँच आउने काम गरेको आरोप लागेपछि हिन्दू जागरण नेपाल र आध्यात्मिक विकास समाजसँग फिल्म निर्माण पक्षले चलचित्र विकास बोर्डमा वार्ता गरीसकेको छ ।